काठमाडौं । जेठ लागेपछि विद्युतीय सवारी साधन (ईभी) आयात ह्वात्तै बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत ईभीमा कर बढाउने हल्लासँगै व्यवसायीहरू आँत्तिएर धमाधम गाडी आयात गरेका हुन् ।
जेठ १ देखि ११ गतेसम्म विभिन्न नाका हुँदै मात्रै २ हजार ३०० युनिट बढी ईभी भित्रएका छन् । जेठ लागेपछि औसतमा दैनिक २१० युनिट ईभी आयात भइरहेको हो ।
मुख्य गरी रसुवागढी, तातोपानी र भैरहवा नाकाबाट उल्लेख्य मात्रमा ईभी भित्रिएका हुन् । जेठको ११ दिनमा रसुवागढी नाकाबाट सबैभन्दा धेरै १३०० युनिट विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस नेपाल भित्रिएका छन् ।
रसुवागढी भन्सार कार्यालयका अनुसार जेठको ११ दिनमा मात्रै सवा ३ अर्ब रुपैयाँ बढीको १३०० युनिट ईभी भन्सार जाँचपास गरिएको हो । अझै करिब १०० युनिट बढी जाँचपास हुन बाँकी रहेको जनाइएको छ । यस नाकाबाट चिनियाँ ब्राण्डका ईभीहरू भित्रिन्छ ।
त्यस्तै, जेठमा दोस्रो धेरै भैरहवा नाकाबाट ५६५ युनिट ईभी आयात भएको छ । जेठमा भैरहवाबाट १ अर्ब १४ कराेड बढीको ईभी भित्रिएका हुन् । भारत लगायत तेस्रो मुलकबाट आयात गरिएका ईभी यस नाका हुँदै भित्रिएका हुन् ।
त्यसैगरी, जेठको ११ दिनमा तातोपानी नाकाबाट ४१४ युनिट विद्युतीय गाडी भित्रिएका छन् । १ अर्ब ६० करोड रुपैयाँ बराबरको उक्त संख्यामा ईभी आयात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी कमलकुमार भट्टराईका अनुसार व्यवसायीले आयात गरेका अधिकांश ईभीको जाँचपास गराइसकेका छन् । अब १५ युनिटभन्दा कम ईभी मात्र जाँचपास हुन बाँकी रहेको उनले बताए । यद्यपि, तातोपानी भन्सार यार्डमा अहिले जाँचपास भइसकेका ८०० बढी ईभी रहेकाे उनकाे भनाइ छ ।
जेठमा अन्य नाकाबाट भने ईभी आयत नगन्य छ । वैशाख यता मात्रै (जेठ ११ गतेसम्म) व्यापारीले कुल ४ हजार ८०० युनिट ईभी ल्याइसकेका छन् । अझै ३ दिन (जेठ १५ अघि)मा ५०० बढी युनिट ईभी भित्रिने अनुमान छ । यस अधारमा डेढ महिनामा मात्रै झण्डै साढे ५ हजार युनिट ईभी आयात हुने देखिन्छ ।
बजेट अघि सकेसम्म गाडी ल्याएर स्टक राख्ने र बजेटमा कर बढेमा नाफा खाएर बेच्न पाइने दाउमा व्यवसायीले अस्वभाविक रुपमा आयात बढाएका हुन् ।
व्यवसायीले झण्डै ६ महिनालाई पुग्ने गाडी आयात गरेका छन् । बजारको मागभन्दा चार/पाँच गुणा बढी गाडी ल्याएर स्टक राखेको देखिन्छ । नेपाली बजारमा हाल औसतमा मासिक १ हजार युनिट हाराहारी ईभी बिक्री भइरहेको छ ।
चालु आवको साढे १० महिनामा १२ हजार १५० युनिट ईभी आयात भएको छ । करिब ३० अर्ब रुपैयाँ बराबरको उक्त ईभी आयात भएको हो ।


