काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर एथरको सबैभन्दा सस्तो र फ्यामिली स्कुटर रिज्टाले १ लाख बिक्रीको माइलस्टोन पूरा गरेको छ ।
नेपालमा हाल बुकिङ लिइरहेको रिज्टा स्कुटरले भारतमा भने १ लाख युनिट बिक्री पूरा गरेको हो ।
भारतीय बजारमा सन् २०२४ सालको अप्रिल महिनामा सार्वजनिक भएको रिज्टा स्कुटर मे २०२५ सम्म आइपुग्दा १ लाख युनिट बिक्री पूरा भएको हो ।
मिडिया रिपोर्टका अनुसार रिज्टा स्कुटरले एथरको कुल बिक्रीमा लगभग ६० प्रतिशतसम्म हिस्सा ओगटेको छ । खासगरी भारतको गुजरात, महाराष्ट्र, मध्य प्रदेश, राजस्थान, ओडिशा र छत्तीसगढ जस्ता मुख्य राज्यहरूमा रिज्टाको बिक्री राम्रो छ ।
फ्यामली इलेक्ट्रीक स्कुटरको रुपमा विकास गरिएको रिज्टा स्कूटरमा फ्ल्याट सिट, ३४ लिटरको अन्डर सिट स्टोरेज, स्कीड कन्ट्रोल, टो एण्ड थेप अलर्ट, एमर्जेन्सी स्टप सिंनल, अनबोर्ड गुगल म्याप नेभिगेसन, लाइभ लोकेसन सेयरिङ सिस्टम पाउन सकिन्छ ।
रिज्टा स्कुटर २.९ र ३.७ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन उपलब्ध छ । जसले क्रमशः १०५ र १२७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले रिज्टा स्कुटरको बिक्री चाँडै सुरू हुने बताएको छ । कम्पनीले हाल रिज्टाको बुकिङ लिइरहेको छ ।

