काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोलाको पुल भाँचिएको छ ।
७० मिटर लामो निर्माणधीन बेलीब्रिज (मोडुलर ब्रिज) भाँचिएको हो ।
पुल भाँचिएर घाइते भएका ६ मध्ये तीन जनाको मृत्यु भएको छ। घाइते मध्ये बाराको सिमरा उमनपा १२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो।
उनीहरुको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । घाइते अन्य तीन जनाको उपचार जारी छ।
मेची राजमार्ग अन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि पहिलो पटक बेलीब्रिज बनाइएको थियो । सो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले पुनः बगाए पछि दोस्रो पटक पुनः बेलीब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाम मार्फत प्रक्रिया अगाडि बढाएर जडान भइरहेको थियो ।
उक्त पुल दोभान सुपर सौगात लाइट बिल्डर्स जेभीले निर्माण गरिरहेको थियो । बेलीब्रिजको लागत साढे ३ करोड रुपैयाँ छ ।


