जिलीको इलेक्ट्रीक कार नेपाल आउने, ग्यालेक्सी ई-फाइभ पहिलो मोडल

काठमाडौं । जिली ब्राण्ड नेपाल आउने भएको छ । चीनको दोस्रो धेरै कार निर्माता बन्ने दौडमा देखिएको जिलीको ग्यालेक्सी ब्राण्ड नेपाल आउने भएको हो ।

जिलीका उत्पादन एलआरआर ग्रुपले नेपाल ल्याउन लागेको जनाएको छ । कम्पनीले गैरीधारामा शोरुम नै निर्माण गरेर गाडी लन्च गर्ने तयारी गरिरहेको हो । एलआरआर ग्रुपले जिलीको स्वामित्वमा रहेको ड्रिम स्मार्ट कम्पनी हङकङबाट ग्यालेक्सी ई-फाइभ नेपाल ल्याउन लागेको हो ।

‘गाडी भन्सार आइपुगेको छ । अर्को सातासम्ममा छुटाउने योजना बनाएका छौं । शोरुम निर्माण सम्पन्न हुन २० दिन जति लाग्छ । त्यसपछि साउन लागेसँगै बिक्री सुरु गर्ने योजना बनाएका छौं’, कम्पनीका विजनेश हेड अनिल पोखरेलले मेरोअटोसँग भने ।

जिली ग्रुपको जीकर, रेडारा जस्ता न्यू इनर्जी ब्राण्ड पहिल्यै नेपाली बजारमा उपलब्ध छन् । एलआरआर ग्रुपले ल्याउने ग्यालेक्सी ब्राण्डको ई–फाइभ मोडल नेपाली बजारमा प्रोटोन ब्राण्डमा इमास-७ नामबाट बिक्री हुँदै आएको छ ।

जिली ग्यालेक्सी बजार प्रबेशसँगै एउटै गाडी दुई ब्राण्ड नेममा उपलब्ध हुनेछन् । चिनियाँ कम्पनीहरुमा यो प्रयोग नयाँ भने होइन ।

यस्तो छ ग्यालेक्सी ई-फाइभ

जिलीको ‘ग्लोबल मोडुलर आर्किटेक्चर’मा तयार भएको ग्यालेक्सी ई-फाइभको साइज ठूलो छ । यसको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

ग्यालेक्सी ई-फाइभमा एचयूडी हेडअप डिस्प्ले, १०.२ इन्चको फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् ।

ग्यालेक्सी ई-फाइभ ४०० भोल्ट आर्किटेक्चरमा बनेको एसयूभी हो । यसमा दिइएको इन्टेलिजेन्ट ड्राइभ सिस्टमसँग ११ मुख्य कम्पोनेन्ट जोडिएको छ । जसमा मोटर, इलेक्ट्रीक कन्ट्रोल लगायत जोडिएको छ । १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको गाडीले ३२० एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले यसमा जिलीले उत्पादन गरेको ‘एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री’ प्रयोग भएको छ । दुई फरक साइजका ब्याट्री यसमा रहने छ । कम्पनीले ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री दिएको छ । जसको रेन्ज ३४० र ४१० किलोमिटर रहनेछ ।


Back_to_top