काठमाडौं । आगामी दिनमा विश्व बजारमा कच्चा तेलको भाउ घट्ने प्रक्षेपण गरिएको छ ।
इरान-इजरायल युद्धका कारण एक महिना (जुन)मै २० प्रतिशतले बढेको कच्चा तेलको भाउ आगामी दिनमा ओरालो लाग्ने आकलन गरिएको हो । हाल इरान इजरायल बीच युद्ध विराम भइसकेको छ ।
ओपेक प्लस देशहरूले अस्टमा तेल उत्पादन वृद्धि गर्ने अपेक्षा र अमेरिकी ट्यारिफ ब्युँतिने सम्भावनाले विश्व बजारमा कच्चा तेलको भाउ घट्ने अनुमान गरिएको छ ।
सोयटर्सका अनुसार ओपेक प्लस समूहले अगस्टमा प्रति दिन ४ लाख ११ हजार ब्यारेल तेल उत्पादन बढाउने योजना बनाएका छन् । यदि उक्त योजना स्वीकृत भएमा आपूर्ति बढ्न गई मूल्यम गिरावट आउने प्रक्षेपण गरिएको छ ।
ओपेक प्लसले दैनिक ४ लाख ११ हजार ब्यारेल उत्पादन बढाए उनीहरूको कुल आपूर्ति १७.८ लाख ब्यारेल पुग्नेछ । जुन विश्वव्यापी तेल मागको १.५ प्रतितशभन्दा बढी बराबर हो। ओपेक गठबन्ध र रूस सहित जुलाई ६ मा भेट्ने कार्यक्रम छ ।
‘बजार अब चिन्तित छ कि ओपेक गठबन्धनले उत्पादन वृद्धिको तीव्र दरलाई निरन्तरता दिनेछ,’ एएनजेडका वरिष्ठ कमोडिटी रणनीतिकार डेनियल हाइन्सले भनेका छन, ‘यी ठूला आपूर्ति वृद्धिले वर्षको बाँकी समयको लागि विश्वव्यापी तेल बजारमा राम्रोसँग आपूर्ति बढाउने छ ।’
त्यस्तै, अमेरिकीले विश्वका १७० बढी देशलाई लगाएर स्थगित राखेको ट्याक्स ट्यारिफ पुनः लगाए पनि तेलको भाउ घट्ने प्रक्षेपण छ । अमेरिकी राष्ट्रपतिले गत अप्रिल २ मा विश्वका अधिकांश देशलाई थप ट्यारिफ लगाएका थिए । लगत्तै ३ महिनालाई स्थगित गरेका थिए । यदि ट्रम्पले अब पुनः ट्यारिफ ब्युँत्याए भने विश्व अर्थतन्त्रमा मन्दी आउने र त्यसले तेलको माग घटाउने जानकारहरूले बताइरहेका छन् ।
अमेरिकी भन्सार शुल्कको बारेमा अनिश्चितता र विश्वव्यापी वृद्धिमा त्यसको प्रभावले पनि तेलको मूल्यमा नियन्त्रण राख्नेछ ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले देशहरूलाई तीव्र रूपमा उच्च करको बारेमा सूचित गर्न सकिने चेतावनी दिएका छन् । ट्रम्पले स्थगन गरेको सीमा जुलाई ९ सम्म रहेको छ । यदि पुनः ट्यारिफलाई निरन्तरता दिएमा देशअनुसार भन्सारदर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म लागू हुनेछ ।
इजरायल इरान तनाव कम भएपछि बजारमा तेलको आपूर्ति बढेको छ । भूराजनीतिक जोखिम कम हुँदै गएकोले अर्को वर्षको सुरुसम्ममा ब्रेन्ट फ्युचर्स लगभग ६० डलरसम्म फर्कने मोर्गन स्टेनलीको अपेक्षा छ । यसले सन् २०२६ मा प्रतिदिन १.३ मिलियन ब्यारेलको अत्यधिक आपूर्ति हुने अपेक्षा गरेको छ।
जुन १३ मा इरानको आणविक केन्द्रहरूलाई लक्षित गर्दै इजरायलसँग सुरु भएको १२ दिने युद्धले ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलरबाट ८० डलरसम्म पुगेको थियो । युद्धविराम लगत्तै घटेर ६७ डलरसम्म झरेको थियो ।

