टाटा नेक्सन र कर्भ ईभीको ब्याट्रीमा लाइफ टाइम वारेन्टी

काठमाडौं । टाटा मोटर्सले आफ्ना पछिल्ला दुई ईभीको ब्याट्रीमा लाइफ टाइम वारेन्टीको घोषणा गरेको छ । टाटाले नेक्सन ईभी र कर्भ ईभीमा लाइफ टाइम वारेन्टी दिने भएको हो ।

यो वारेन्टी ४५ किलोवाटको ब्याट्री भएको नेक्सन र कर्भ ईभीको ब्याट्रीप्याकमा लागू हुने टाट मोटर्सले जनाएको छ । टाटाका अनुसार अब यी दुई ईभीमा ग्राहकले १५ वर्ष वा अनलिमिटेड किलोमिटरको वारेन्टी दिने भएको हो ।

कम्पनीले कुनै पनि कारको लाइफ १५ वर्ष हुने मान्यताको आधारमा यी ईभीहरूको ब्याट्रीप्याकमा लाइफ टाइम वारेन्टी भनेको हो ।

ईभीमा थप वारेन्टी दिएसँगै प्रिमियम ईभी टेक्नलोजीमा फड्को मारेको टाटा मोटर्सले जनाएको छ । टाटाको नयाँ स्कीमसँगै अब ग्राहकहरूलाई टाटा मोटर्सका ईभीहरूप्रति थप कन्फिडेन्स बढ्नुका साथै चिन्तामुक्त स्वामित्व अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

टाटाले यो वारेन्टी फस्ट टाइम बायर र यसअघि सवारी खरिद गरेका दुवै ग्राहकले पाउने बताएको छ । यद्यपि, ग्राहकले खरिदपछि फेरि अर्कोव्यक्तिलाई बेचेको सवारीको हकमा भने लागू नहुने कम्पनीले जनाएको छ । यसअघि टाटाले आफ्ना सबै ईभीहरूमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिँदै आएको थियो ।

टाटा मोटर्सले भारतमा लागू गरेको यो योजना नेपालमा के हुनछ भन्ने अहिलेसम्म आधिकारिक जानकारी नआएको टाटा मोटर्संको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ स्रोतले मेराअटोलाई बतायो ।


Back_to_top