काठमाडौं । अहिले तपाई बाटोमा हिँड्दा हरेक जसो ट्याक्सीको पछाडि एउटा पेपर टाँसिएको देख्नुहुन्छ । जहाँ ट्याक्सी व्यवसायीका माग लेखिएको छ । उनीहरुले चलाएको नयाँ विरोधको शैलीले सबैको प्रसंसापनि पाईरहेको छ । विगतमा व्यवसायीहरुले बन्दमार्फत बिरोध गर्नेगर्थे ।
२०६९ सालदेखि वैज्ञानिक हिसावले भाडा समायोजन नभएको भन्दै व्यवसायीहरुले ट्याक्सी पछाडि विभिन्न माग लेखेर विरोध प्रदर्शन गर्दै आएका हुन् । व्यवसायीहले ट्याक्सी भाडा ५७ रुपैयाँ प्रति किलोमिटर वृद्धि गराउन माग गरेका छन् ।
प्रत्येक वर्षको असार मसान्तमा वैज्ञानिक तवरले मिटर भाडा समायोजन गर्ने भनेर ऐनमै व्यवस्था भए पनि हालसम्म सरकारले कार्यान्वयनमा नल्याएको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बताए ।
गौतमका अनुसार २०६५ सालमै यातायात मन्त्रालय, यातायात विभाग र यातायात व्यवसायीबीच प्रत्येक वर्षको असार मसान्तमा भाडा समायोजन गरिनुपर्ने सम्झौता भएको छ । सरकारले २०६५ देखि २०६९ सालसम्ममा २ पटक मात्र भाडा समायोजन गरेको थियो । त्यस पछि हालसम्म भाडा समायोजना हुन सकेको छैन ।
यसै अवधिमा २०७५ साल असोजमा ७ गतेबाट सरकारले १० प्रतिशत भाडा वृद्धि गरी भाडा समायोजन गरेको छ । तर, त्यो पेट्रोलिय पदार्थको आधारमा मात्र भाडा समायोजन भएको गौतमो दाबी छ ।
सरकारले २०६९ सालदेखि यता भाडा समायोजन गरेन असोजमा आएर भाडा समायोजन गर्यो तर, त्यो २०६९ सालमा बढ्ने जतीनै हो, समयानुकुल हुन सकेन’ गौतमले मरोअटोसँग भने ‘२०६९ को घरभाडा कहाँ पुगिसक्यो बजारमा रासनदेखि सबै कुराको मूल्य बढेको छ यस्तो अवस्थामा हामीले कसरी यतिले गुजारा गर्ने ?’
सरकारले भाडा समायोजन गर्दा पेट्रोलियम पदार्थको मूल्य घटबढ र वार्षिक राष्ट्र बैंकले निकाल्ने तथ्यांकको आधारमा मूल्य वृद्धि गर्नु पर्ने उनले बताए । नेपालको सरकारको नीति अनुसार ३५ प्रतिशत बजार मूल्य र ६५ प्रतिशत पेट्रलियम पदार्थलाई आधार मानेर मिटर भाडा समायोजन गर्नु पर्ने हुन्छ ।
उनले सरकारले भाडा समायोजनका लागि ध्यान नपुराएको र वैज्ञानिक तवरले नभई जथाभावी भाडा बढाएको आरोप लगाए । यस्तै नेपाल यातायात मजदुर संघ ३ नम्बर प्रदेशका प्रमुख जगननाथ गौतम वैज्ञानिक भाडा समायोजन भनेको भाडा बढ्नु मात्र नभई घट्नु पनि रहेको बताउँछन् ।
सरकारले हिसाबै नगरी अन्दाधुन्दा रुपमा भाडा समायोजन गरेको उनको आरोप छ । उनले सरकारले आफै नियम बनाएर आफँै तोडेको भन्दै आर्कोस व्यक्त गरे ।
राज्य पक्ष्यले कर दोब्बर कर बढाउने गरे पनि आफैले गरेको सम्झौता लागु नगरेको बताए । उनले २०६९ सालमा सुजुकी कम्पनीको गाडीको रेट ११ लाख भएको तर हाल १७ लाख रुपैयाँ पुगेको त्यस्तो अवस्थामा एउटा ट्याक्सी चालकले लोन देखि घरको सबै खर्च पुराउनु पर्ने जुन हालको समायोजनको रकमले सम्भव नभएको बताए ।
समयानुकुल बैज्ञानिक भाडा २ तरिकामा समायोजन हुने व्यवस्था छ । सम्झौता अनुसार पेट्रोलीयम पदार्थको मूल्य ५ रुपैयाँ बढ्दा वा घट्दा समायोजन गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तै अर्को तर्फ वार्षिक रुपमा कति प्रतिशतले मूल्य वृद्धि भयो राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार भाडा बढाउने कुरा सम्झौतामा उल्लेख गरिएको उनले बताए ।
यसैगरी भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीहरुको विरोद निकै भद्र रहेकोमा त्यो सम्मान जनक रहेको र त्यसको विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।
सरकारले भाडा दर समायोजनका लागि छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए ।
‘अहिले ट्याक्सीहरुले गरेको यो भद्र आन्दोलन निकै सरानीय छ, यस विषयमा मन्त्रालयले छलफल गरिरहेको छ, हामी चाडै केही उपाय निकाल्ने छौँ,’ सापकोटाले मेरोअटोसँग भने ।

