होण्डाको स्कुटर आफूले चाहेकै ठाउँमा चार्ज गर्न मिल्ने, ल्यायो डक चार्जिङ

काठमाडौं । जापानी मोटरसाइकल निर्माता होन्डाले भारतमा उत्पादन गर्ने इलेक्ट्रीक स्कुटरमा आफूले चाहेकै ठाउँमा चार्ज गर्न मिल्ने डक चार्जिङ सिस्टम ल्याउने भएको छ ।

कम्पनीले स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई सरल रुपमा चार्ज गर्नका लागि एसी डक चार्जिङ सिस्टम ल्याउने भएको हो ।

होन्डाले पोर्टेबल डक चार्जिङ सिस्टमको बिक्री युरोप लगायत अन्य देशहरूमा पहिलेदेखि सुरू गरिसकेको छ । अब भने होन्डाले भारतमा पनि ल्याउने तयारि गरिरहेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

यस विषयमा कम्पनीले भने आधिकारिक रुपमा केही जानकारि दिएको छैन ।

के हो डक चार्जिङ सिस्टम ?

डकले होन्डाको इलेक्ट्रीक स्कुटरको ब्याट्री मात्रै चार्ज गर्न मिल्छ । यो सिस्टमको सुरुवात युरोपको लागि बनाइएको इलेक्ट्रीक स्कुटर होन्डा सीयूभी–ईबाट भएको हो । जुन पोर्टेबल चार्जिङ डकको साथ उपलब्ध भएको थियो । यसले स्वापेबल ब्याट्री प्याकहरू जहाँ मन लाग्छ त्यहीँ चार्ज गर्न सकिन्छ।

यसमा वायर सिस्टम हुँदैन २३० भोल्ट को पावर सप्लाई प्लगमा आरामले जोड्न सकिन्छ । यसमा एसी चार्जिङ सिस्टम रहेको छ । सानो एउटा ब्याट्री अट्ने डब्बा जस्तो देखिने डक चार्जरले कुनै झन्झट बिना सामान्य पावर सप्लाईबाट आफ्नो इलेक्ट्रिक स्कुटरको ब्याट्री निकालेर त्यसमा राखि चार्ज गर्न सजिलो बनाउँछ।

साधारण प्लग प्रयोग गरेर आफ्नो घरको बालकनी, ग्यारेज वा कोठाभित्र सजिलै प्रयोग गर्न मिल्छ । यसले सर्ट सर्किट र ओभर चार्जिङ पनि आफैं कन्ट्रोल गर्छ । यो सिस्टम सानो, हलुका र सजिलै बोकेर लैजान मिल्ने हुन्छ ।


Back_to_top