पोखरामा उडान गर्न दुई विदेशी एयरलाइन्सले मागे अनुमति

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई विदेशी एयरलाइन्स कम्पनीले अनुमति मागेमा छन् ।

चीनको सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया नियमित र भुटानको भूटान एयरलाइन्सले चाटर्ड उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेका हुन् ।

प्राधिकरणका अनुसार सिचुवानले आगामी सेप्टेम्बर महिनादेखि उडान गर्ने गरी अनुमति मागेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको जानकारी दिए ।

उनले उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको बताए ।
‘सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ। औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला,’ उनले भने । यो उडान भएमा अस्ट्रेलिया आवत-जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरू गरेको थियो।

त्यस्तै, भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको हो । भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो।

ुचार्टर्ड उडान दिगो भएमा काठमाडौंजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ। सुरूमा भूटान एयरलाइन्सले काठमाडौं-पारो-काठमाडौं उडान गर्नेछ। उडान नियमित भएको खण्डमा पारो-पोखरा-दिल्ली र दिल्ली-पोखरा-पारो उडान गर्ने एयरलाइन्सको योजना छ,’ सूचना अधिकारी भूलले भने। भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो। ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो। वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ।


Back_to_top