काठमाडौं । कमाउ धन्दाका लागि सवारी दुर्घटना नै नक्कली गराई बीमा दाबी गर्ने गरेको पाइएको छ ।
नेपाल प्रहरीले झुटा सवारी दुर्घटना खडा गरी नक्कली कागजात बनाई बीमा रकम दाबी गर्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।
नक्कली कागजात बनाउने कार्यमा संलग्न ललितपुर गोदावरीका ३६ वर्षीय सुनिल महर्जन, ३३ वर्षीय विकेश कुँवर, काभ्रेको पाँचखालका हरिप्रसाद गौतम, काठमाडौं महानगर-१४ बस्ने विनोद डंगोल, काठमाडौं-३१ बस्ने सुनिल सापकोटा र कागेश्वरी मनोहरा ७ बस्ने ४५ वर्षीय मनोजकुमार आचार्यलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न किसिमका नक्कली कागजात बनाउन कार्यालय नै खडा गरेका थिए । सोही कार्यालयबाट दुर्घटना नभएको सवारी दुर्घटना भएको भनी नक्कली कागजात बनाउने, नक्कली घाइते देखाउने र उसकाे बीएण्डबी अस्पतालमा उपचार भएको नक्कली कागजात बनाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम दाबी गर्दै आएका थिए ।
उनीहरू विरुद्ध नक्कली कागजात सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


