नयाँ इन्जिनमा आयो एक्सपल्स २०० फोरभी मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । नेपालमै एसेम्बल हुँदै आएको हिरोको एक्सपल्स २०० फोरभी मोटरसाइकलको इन्जिन र कलर अपग्रेड भएको छ ।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपल्स २०० फोरभी मोटरसाइकलमा बीएस ६ दोस्रो फेज (ओबीडी टू) सिस्टमको नयाँ इन्जिन सेटअप दिएर नेपाली बजारमा ल्याएको हो ।

यससँगै नेपालमा एक्सपल्स २०० फोरभी ओबीडी टू मापदण्ड अनुसारको इन्जिनमा पनि किन्न सकिने भएको हो ।

नयाँ इन्जिनमा आएको एक्सपल्स ब्ल्याक इन्डस्ट्रियल ग्रे कलरमा नेपाली बजारमा उपलब्ध भएको छ । इन्जिन र कलर बाहेक मोटरसाइकलमा अन्य कुनै परिमार्जन नभएको कम्पनीले बताएको छ । यसको पावर, पर्फमेन्स र अन्य फिचरहरू पुरानो समाननै पाउन सकिन्छ ।

कम्पनीले नयाँ एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ९५ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । नयाँ एक्सपल्स मोटरसाइकल सबै डिलरमा उपलब्ध रहेको कम्पनी स्राेतले जानकारी दिएको हो ।

एक्सपल्समा १९९.६ सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, फोर भल्ब, बीएस ६, ओबीडी टू, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८५०० आरपीएममा १८।९ हर्ष पावरका साथै ६५०० आरपीएममा १७।३५ एनएम टर्क जेनेरेट गर्छ ।

मोटरसाइकलमा पूरा एलईडी लाइट सेटअप, प्रोजेक्टर हेड्ल्याम्प, कनेक्टिभिटी सहितको पूरा डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, डबल पर्पस टायर, डबल डिस्कब्रेक, सिंगल च्यानल एबीएस, राइड मोड, एड्जस्टेवल सस्पेन्सन सेटअप लगायत अन्य धेरै फिचरहरू रहेका छन् ।

नेपालमा नयाँ ओबीडी टू भेरियन्टका अलावा हिरो एक्सपल्स २०० फोरभी र फोरभी प्रो भेरियन्ट पनि उपलब्ध छ । बजारमा पहिलैदेखि बिक्री भइरहेको फोरभीको मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ र प्रो भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top