काठमाडौं । पेट्रोल कारको चर्चा कम हुँदै गएको छ । बिक्रेताहरू पनि नयाँ मोडल ल्याउन जाँगर देखाएका छैनन् । त्यसैले पहिल्यैदेखि बजारमा रहेका सब फोर मिटर एसयूभी नै अहिले पनि किन्नु पर्ने अवस्था छ ।
भारतमा ४ मिटरभन्दा छोटा गाडीमा सरकारले विशेष सहुलियत दिएको कारण सब फोर मिटर सेग्मेन्टमा धेरै गाडी उत्पादन हुन्छन् । यी गाडी कम्प्याक्ट एसयूभी सरहको सुविधाका साथ बजारमा आएका कारण धेरै मानिसले सब फोर मिटर एसयूभी किन्ने गरेको पाइन्छ ।
नेपालमा पनि सबफोर मिटर सेग्मेन्टमा हुन्डाई, मारुती सुजुकी, महिन्द्रा, किया र निसान जस्ता ब्राण्डले एसयूभी उपलब्ध गराएका छन् । यी सबै एसयूभीको साइज ३९९५ एमएम आसपास छ । ब्राण्ड अनुसार सुरुवाती मूल्य भने फरक पाइन्छ ।
अहिले पेट्रोलबाट चल्ने सबफोर मिटर एसयूभी किन्नेले ३५ लाख सुरुवाती मूल्यबाटै पाउँछन् । बजारमा उपलब्ध ५ साना एसयूभीको बारेमा हामीले यहाँ चर्चा गरेका छौं । जसमा सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा थ्रीएक्सओ र निसान म्याग्नाइट छन् ।
सुरुवाती मूल्यका हिसावले सबैभन्दा सस्तो निसान म्याग्नाइट छ भने सबैभन्दा महँगो मारुती सुजुकी ब्रेजा छ ।
१. निसान म्याग्नाइट
सबफोर मिटर सेग्मेन्टमा सस्तो मूल्यमा पाइने निसान म्याग्नाइटमा १.० लिटर इन्जिन छ । रेनोसँगको सहकार्यमा भारतमा बनेको निसान म्याग्नाइटमा रहेको थ्री सिलिण्डर पेट्रोल इन्जिन निकै किफायति छ ।

अर्को मुख्य कुरा जापानी ब्राण्डले उत्पादन गरेको म्याग्नाइट निकै सस्तो एसयूभी हो । नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध निसान म्याग्नाइट किन्नेले सुरुवाती भेरियन्टको लागि ३५ लाख ७५ हजार रुपैयाँ तिर्दा पुग्छ ।
अहिले चाडपर्व स्कीम भएको कारण अझै सस्तोमा किन्न सकिछ । निसान म्याग्नाइट ग्लोबल एनक्याप क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल मोडल हो ।
२. किया सोनेट
कोरियन ब्राण्ड कियाको सोनेट सबफोर मिटर एसयूभी पनि कम मूल्यकै कारण धेरै चर्चा भइरहेको मोडल हो । किया सोनेटमा १.२ लिटर पेट्रोल इन्जिन छ । हुन्डाई मोटर ग्रुप अन्तर्गतको किया ब्राण्डमा भेन्यूमा रहेको इन्जिन नै दिइएको हो ।

कियाले सोनेट एसयूभीलाई विभिन्न ४ भेरियन्टमा बिक्री गर्दै आएको छ । यसको सुरुवाती भेरियन्ट एचटीइको मूल्य ४१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । सोनेटको सबैभन्दा महँगो १.५ लिटरको एचटीएक्स अटोमेटिक डिजेल इन्जिन भएको भेरियन्ट किन्न भने ६३ लाख ९० हजार तिर्नुपर्छ ।
३. हुन्डाई भेन्यू
हुन्डाईको भेन्यू नेपालमै एसेम्बल भएको पहिलो मोडल हो । कम्पनीले १.२ लिटर फोर सिलिण्डर पेट्रोल र १.० लिटर थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिनमा भेन्यू बिक्री गर्दै आएको छ ।

बजारमा हुन्डाई भेन्यूको ४ भेरियन्ट किन्न पाइन्छ । यसको सुरुवाती भेरियन्ट ‘ई’को मूल्य ४१ लाख ९६ हजार रुपैयाँ छ । माथिल्लो एस अप्सनल डीसीटी भेरियन्ट किन्नेले ५९ लाख ९६ हजार रुपैयाँ तिर्नुपर्छ ।
४. महिन्द्रा थ्रीएक्सओ
महिन्द्राले एक महिना अगाडि भएको नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरू गरेको एसयूभी थ्रीएक्सओको सुरुवाती मूल्य ४४ लाख ९० हजार रुपैयाँ तोकेको छ । आक्रामक फ्रन्ट डिजाइनमा तयार भएको महिन्द्रा थ्रीएक्सओ सबैभन्दा पछि विकास भएको एसयूभी हो ।

दशैं अगाडि नै ग्राहकलाई दिने तयारी भइरहेको थ्रीएक्सओ विभिन्न ५ भेरियन्टमा बिक्री हुने कम्पनीले जनाएको छ । यसमा १.२ लिटर फोर सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिइएको छ । महिन्द्राको नयाँ एसयूभी थ्रीएक्सओले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
५. मारुती सुजुकी ब्रेजा
नेपालमा सर्वाधिक सफल मध्येको एक मारुती सुजुकी ब्रेजा धेरै भेरियन्टमा उपलब्ध एसयूभी हो । यसलाई विभिन्न ११ भेरियन्टमा किन्न पाइन्छ । सुजुकीले १.५ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ ।

ठूलो इन्जिन भएकै कारण धेरैले ब्रेजालाई पावरफुल एसयूभी भन्छन् । ब्रेजाको सुरुवाती भेरियन्ट एलएक्सआईको मूल्य ४७ लाख ०९ हजार रुपैयाँ रहेको छ । यदि, तपाईं टप भेरियन्ट ब्रेजा जेडएक्सआई ड्यूल टोन अटोमेटीक किन्न चाहनु हुन्छ भने ६६ लाख २९ हजार रुपैयाँ तिर्दा पुग्छ ।

