भारतमा १० लाखमै इलेक्ट्रीक कार ल्याउदै एमजी, नेपाल पनि आउला ?

एमजी मोटरर्सले भारतीय बजारमा सस्तो मूल्यको इलेक्ट्रीक तथा हाइब्रिड कार ल्याउने भएको छ । चीनको एसआइएसीको स्वामित्वमा रहेको बेलायती कम्पनी एमजी मोटर्सले करिब १० लाख भारुमै इलेक्ट्रीक कार ल्याउने घोषणा गरेको हो । 

एमजी मोटर इन्डियाका एमडी तथा सिइओ राजीव छावाले तुलनात्मक रुपमा अन्य कम्पनीको कार भन्दा आकर्षक मूल्यको यस इलेक्ट्रीक कारप्रति ग्राहकले उल्लेख्य रुची रहने विश्वास व्यक्त गरेका छन् । 

इभी प्रति आकर्षण बढ्दै गएको अवस्थामा एमजीको इलेक्ट्रीक कारले राम्रो नजिता दिने कम्पनीको अनुमान छ । कम्पनीले यो मोडल कहिलेसम्म भारतीय बजारमा आउँछ भन्ने विषय भने खुलाएको छैन । 

हाल एमजीले हाइब्रिड सेगमेन्ट अन्र्तगत आफ्नो पहिलो एसयूभी हेक्टर ४८–भोल्ट माइल्ड हाइब्रिड भेरियन्ट सार्वजनिक गर्ने तयारी गरेको छ । उच्च मूल्यसहित सार्वजनिक हुने हेक्टर कम्पनीले भारतमा बिक्री गर्ने पहिलो एसयूभी हुनेछ । 

कम्पनीले यो वर्षको अन्त्यसम्ममा सानो आकारको इलेक्ट्रीक एसयूभी इजेडएस ल्याउने तयारीमा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भने यो मोडल गत मार्च ३० मा सार्वजनिक भएको थियो । एमडी छावाले उक्त एसयूभी निक्कै टिकाउयोग्य इलेक्ट्रीक गाडीको सूचिमा पर्ने दाबी गरेका छन् । 

आउला नेपाल ?

नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजीका गाडी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एमजीको इलेक्ट्रीक जेडएसलाई आगामी सेप्टेम्बरमा नेपाली बजारमा बिक्री वितरण सुरुगर्ने जनाएको छ । यस्तोमा भारतीय बजारमा आउने सस्तो इलेक्ट्रीक कारसमेत पक्कै नेपाली बजारमा आउने छ ।


Back_to_top