काठमाडौं । सरकारले थापाथलीमा बस पकेट निर्माण गर्ने भएको छ । बस, ट्याक्सी, ट्याम्पु तथा माइक्रोबस सबै एकै ठाउँमा रोकिने भएकाले सडकममा बढी जाम हुने गरेको भन्दै बस पकेट निर्माण गर्न लागिएको हो ।
कसरी बस पकेट बनाउने भन्ने बिषयमा जाइकाले अध्ययन गरिरहेको सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दिप बाराहीले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, महानगरलगायतको समूहले सडकको सुधारका लागि जाइकासँग समन्वय गरी तत्कालको समस्या कसरी समाधन गर्न सकिन्छ भन्ने छलफलको क्रममा यो योजना अघि सारेको उनले बताए ।
उनले हाल जाइकाले योजना अध्ययनको काम अन्तिम चरणमा पुर्याएको बताए । कुपन्डोल, कलंकी हुँदै बानेश्वर तथा रत्नपार्क तर्फ जाने बसहरु थापाथलीको बस स्टपमा रोक्नु पर्ने छ । ट्याम्पु, माइक्रो, ट्याक्सी लगायतका सवारीहरु माइतिघर जाने बाटो तर्फ रहेको स्टेण्डमा मात्र रोक्न पाइने बाराहीले बताए ।
यस योजनालाई पाइलट प्रोजेक्टको रुपमा अघि बढाइएको उनको भनाइ छ । यस योजनाका लागि धेरै खर्च नलाग्ने भएकाले चालू आर्थिक वर्ष भित्रै लागु हुने गरि अघि बढाइने उनले बताए ।
‘यसमा धेरै खर्च लाग्दैन, बजेट स्टेमेट आउना साथ कार्यन्वयनमा ल्याउने गरि हामी काम गरिरहेका छाँै,’ बाराहीले मेरोअटोसँग भने ।
बस पकेट निर्माणका लागि पेन्ट र साइन बोर्ड राख्ना साथ कार्यन्वयमा ल्याउन सकिने छ । यो योजना सफल भएमा अन्य स्थानमा पनि बस पकेट निर्माण गरिने उनले जानकारी दिए ।

