प्रधानमन्त्रीको आदेशमा चलेका टुटल र पठाओ पुनः बन्द गरिँदै

काठमाडौं । कानुन विपरित सञ्चालनमा रहेका टुटल र पठाओ बन्द हुने भएको छ । यसअघि पनि यातायात व्यवस्था विभागले गैरकानुनी रुपमा मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने टुटल र पठाओ कम्पनी बन्द गर्न ट्राफिक प्रहरीसँग समन्वय गरेको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरित सञ्चालनमा रहेका टुटल र पठाओलाई तत्कालका लागि सञ्चालन गर्न आदेश दिएका थिए । त्यसपछि ट्राफिक प्रहरीले टुटल र पठाओलाई सुरु गरेको कारबाही रोकेको थियो ।

यातायात व्यवस्था विभागमा नयाँ महानिर्देशकका रुपमा आएपछि कुमारप्रसाद दाहालले पुनः टुटल र पठाओको गैरकानुनी काम रोक्ने बताएका छन्  ।

टुटल र पठाओले एप्लिकेशन मार्फत दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्तालाई इंगेज गराई रकम असुल्दै आएका छन् । नेपालको सवारी कानुनले निजी सवारीसाधन भाडाको प्रयोजनमा लगाउन पाउने परिकल्पना नगरेको यातायात व्यवस्था विभागको भनाई छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनि स्पष्ट रुपमा उल्लेख गरिएको छ । निजी सवारी भन्नले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनि ऐनको अनुसूची २ को खण्ड ‘ग’मा लेखिएको छ ।

यस्ता कम्पनीले यात्रुबाट आएको भाडा रकमबाट दुईपांग्रे सवारीधनीलाई केही रकम उपलब्ध गराउने र बाँकी रकम आफैले राख्ने गरेका छन् ।

यसरी दुईपांग्रे सवारीमा भाडाको यात्रु बोक्दा दुर्घटनाको जोखिम धेरै हुन्छ । त्यस्तोमा दुर्घटना भए यात्रुको जोखिम कसले बहन गर्ने भन्ने प्रश्न उठ्ने विभागका एक अधिकारीले बताए । यसको भाडा निर्धारणपनि कुनै आधिकारीक तवरले भएको छैन । 

निजी सवारी पनि भाडाको प्रयोजनमा प्रयोग गर्ने हो भने भाडाका सवारी भनेर छुट्याइ रहनु नपर्ने यातायात व्यवसायीहरुको भनाइ छ । निजी प्रयोजन र भाडाको प्रयोजन भनि नम्बर प्लेटमै प्रकृति छुट्याएर दिएपछि त्यही अनुसार सवारीको प्रयोग हुनुपर्ने व्यवसायीहरु बताउँछन् ।

यसलाई रोक्ने विषयमा विभागका महानिर्देशक दाहालले भौतिक पूर्वाधार मन्त्री, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरि रहेको र कही दिन भित्रमा निर्णय लिने बताएका छन् ।


Back_to_top