काठमाडौं । सरकारले करिब ६ वर्षपछि सवारी साधनसँग सडक उपभोग दस्तुर (रोड टोल) उठाउन सुरू गरेको छ । कोरोना महामारीका कारण स्थगित भएको टोल संकलन सोमबार (मंसिर १ गतेदेखि) भैरहवा-भूमही सडकबाट सुरू भएको हो ।
सरकारले कोरोना अघि देशका विभिन्न १५ राजमार्गबाट सडक दस्तुर शुल्क उठाउँदै आएको थियो । २०८२ जेठ १७ गतेको मन्त्रिपरिषद्ले बैठकले ‘सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१’ स्वीकृत गर्दै राजमार्गहरूबाट सडक दस्तुर उठाउने निर्णय गरेको थियो । सडक बोर्ड नेपालले अहिले उक्त निर्णय कार्यान्वयन सुरू गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले कोरोना कालदेखि रोकिएको सडक दस्तुर पुनः उठाउन सुरू गरिएको बताए । उनले सडक बोर्ड ऐन, २०५८ को दफा ६ र ४ को अधिनमा रही ‘सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१’ बमोजिम दस्तुर संकलन सुरू गरिएको बताए ।
उनले मंसिर १ देखि रूपन्देहीको भैरहवा-भूमही सडकखण्डमा सुरू गरिएको जानकारी दिए । अब केही दिनमै थप तीन सडक खण्डमा पनि दस्तुर संकलन सुरू गरिने उनले बताए ।
उनका अनुसार चाँडै वीरगंज-पथलैया, धरान-विराटनगर र नारायणगढ-मुग्लिङ सडकखण्डमा पनि दस्तुर उठाइने छ । ती सडकमा आवश्यक भौकित पूर्वाधार निर्माण अन्तिम चरणमा पुगको उनले बताए ।
‘भैरहवा-भूमही सडकमा मंसिर १ गतेदेखि टोल उठाउन थाल्यौं । अब केही दिनमै वीरगंज-पथलैया, धरान-विराटनगर र नारायणगढ-मुग्लिङ सडकमा उठाउन सुरू गर्छौं । तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले मेरोअटोसँग भने । निर्माण सम्पन्न भएका अन्य सडकहरूमा पनि क्रमशः दस्तुर उठाउन सुरू गरिने उनको भनाइ छ ।
त्यस्तै, सरकारले संचालनमा आउने तयारीमा रहेको नेपालकै पहिलो नागढुंगा नौबिसे सुरूङमार्गबाट पनि उपभोग दस्तुर उठाउने भएको छ । मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले सुरूङमार्ग प्रयोग गर्ने सवारीले तिर्नुपर्ने शुल्क समेत तोकिसकेको छ । सुरूङमार्ग संचालनका लागि हाल विदेशी सेवा प्रदायक ल्याउन टेन्डर आह्वान समेत भइसकेको छ ।
बोर्डले सडक दस्तुर उठाउन सडक बोर्ड ऐन २०५८ अनुसार २०६० मा ‘सडक दस्तुर उठाउने कार्यविधि सम्बन्धी नियमावली बनाएको थियो । सडकमा २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै भैरहवा-भूमही (२९ किमी) र वीरगंज-पथलैया (२५ किमी) सडकमा दस्तुर उठाउन सुरू गरेको थियो ।
२०७६ सम्म हेटौंडा-नारायणघाट, नारायणघाट-बुटवल, नौबिसे-मुग्लिन, काँकडभिट्टा-दमक, दमक-इटहरी, विराटनगर-धरान, कोशी-चैहर्वा, चैहर्वा-पथलैया, हेटौंडा-वीरगंज गरी ११ सडकमा दस्तुर उठाइँथ्यो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ वैशाख २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै धुलिखेल-खुर्कोट, खुर्कोट-सिन्धुली-बर्दीबास र पाँचखाल-मेलम्ची सडकमा पनि दस्तुर उठाउने निर्णय गरेको थियो । त्यस्तै, २०७७ भदौ ८ गते नारायणगढ-मुग्लिन सडकलाई थप गरिएको थियो ।
त्यस्तै, साउन २६ गते नागढुंगा-नौबिसे सुरूङमार्ग प्रयोग गर्ने सवारीले तिर्नुपर्ने दस्तुर तोकेको थियो । त्यस्तै, सरकारले महेन्द्र राजमार्गको पश्चिमतर्फ ४ खण्ड (बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-अत्तरिया, अत्तरिया-गड्डाचौकी) अरनिको राजमार्ग (धुलिखेल-तातोपानी), पृथ्वी राजमार्ग (मुग्लिन-पोखरा) र फास्ट ट्रयाकमा पनि दस्तुर उठाउने योजना बनाएको छ ।
दुईतिहाई रकम सडक मर्मतमै खर्चिने
संकलित सडक दस्तुर मध्ये दुईतिहाई रकम सम्बन्धित सडक मर्मत सम्भारमा खर्च गरिने कार्यकारी निर्देशक केसीले बताए ।

‘लगातार गाडी गुड्दा सडक बिग्रिन्छ । नियमित मर्मतका लागि बजेट अभाव नहोस् भनेर उठेको रकममध्ये दुईतिहाई सम्बन्धित सडकमै खर्च गर्ने योजना बनाएका छौं । एकतिहाई रकम मात्रै अन्य काममा खर्च हुन्छ,’ उनले भने ।
पैसा उठाउन ठेक्का नलगाउने
बोर्डले विगतमा सडक दस्तुर संकलनका लागि निजी क्षेत्रलाई ठेक्का लगाउने गरेको थियो । ठेकेदारहरूले धेरै रकम उठाए पनि सरकारलाई कम दिने र केहीले नतिर्ने समेत गरेका थिए । त्यसबाट पाठ सिक्दै बोर्डले अब भने ठेक्का नलगाई आफैंले दस्तुर उठाउने निर्देशक केसीले बताए ।
उनले बोर्डले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर उठाउने व्यवस्था मिलाइने उनले बताए । उनका अनुसार दस्तुर उठाइने सडकमा सवारी चालकले क्यूआर मार्फत विद्युतीय भुक्तानी र नगद दुवै तिर्न सक्ने व्यवस्था मिलाइएको छ । क्यूआरमार्फत तिरिएको पैसा सिधै बोर्डको खातामा जम्मा हुने र नगद तिरेको रेकर्ड पनि डिजिटल सिस्टमै रहने व्यवस्था गरिएको उनले बताए ।
‘दस्तुर उठाउन ठेक्का लगाउँदा वास्तविक रकम सरकारलाई आउँदैन्थ्यो । ठेकेदारले उठेजति सबै पैसा बुझाउँदैन्थे । उठेन भन्थे । केही नियमित तिर्दैन्थे,’ उनले मेरोअटोसँग भने, ‘अब दस्तुर उठाउन ठेक्का लगाउँदैनौं । आफ्नै कर्मचारी परिचालन गर्छौं । जनशक्ति पुगेन भने हायर गर्न सकिन्छ । उठेको रकम सिधै सडक बोर्डको खातामा जम्मा हुने व्यवस्था मिलाएका छौं ।’
कुन सडकमा कति लाग्छ शुल्क ?
बोर्डले सडकको दूरी र सवारी साधनको प्रकृति अनुसार फरक फरक शुल्क तोकेको छ । सडकमा गुड्ने सवारीलाई ३ वर्गमा विभाजन गरी दस्तुर तोकिएको छ । सरकारी सवारीको हकमा कुनै शुल्क तोकिएको छैन ।
भैरहवा-भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको ३० रुपैयाँ दस्तुर तिर्नुपर्छ । त्यस्तै, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २० रुपैयाँ तिर्नुपर्छ । यस सडकखण्डमा तीनपाँग्रे तथा मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिए पनि अहिले संकलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।
वीरगंज-पथलैया सडकमा तीनपाँग्रे तथा मोटरसाइकललाई १० रुपैयाँ, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरलाई २० रुपैयाँ र बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टलाई ५० रुपैयाँ दस्तुर तोकिएको छ ।
त्यसैगरी, धरान-विराटनगर सडकमा सडकमा तीनपाँग्रे तथा मोटरसाइकललाई १० रुपैयाँ, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरलाई २५ रुपैयाँ र बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टलाई ७५ रुपैयाँ दस्तुर तोकिएको छ ।
नारायणगढ-मुग्लिङ सडकमा सडकमा कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरलाई २५ रुपैयाँ र बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टलाई ५५ रुपैयाँ तोकिएको छ । यस सडकमा तीनपाँग्रे तथा मोटरसाइकललाई दस्तुर तोकिएको छैन ।


