तीव्रता पाउँदै महानगरको ‘धुलोरहित सडक’ योजना, ५५ किमी कालोपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमले तीव्रता पाएको छ । पछिल्लो समय महानगर भित्रका सडक धमाधम कालोपत्र भइरहेको हुन् ।

धुलोरहित सडक अन्तर्गत हालसम्ममा ५५ किलोमिटर सडक कालोपत्र भएको महानगरले जनाएको छ । महानगरले गत वर्षदेखि चार प्याकेजमा ठेक्का लगाइ काम भइरहेको यस योजना अन्तर्गत हालसम्म ५५ किमी सडक कालोपत्र भएको हो ।

३ वर्षसम्म निरन्तर चल्ने यस योजनाको लागत २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ छ । महानगर भित्रका पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम वहुवर्षिय योजना हो ।

वडाबाट प्राप्त भएका मागका आधारमा सार्वजनिक निर्माण विभागबाट संचालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्र तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम हुन्छन् । काठमाडौंलाई ४ भागमा बाँडेर ठेक्का लगाइएको छ ।

योजनाको पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर सन्दीप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्र र ३.५ किलोमिटर सडक ढलान गरिएको छ ।

पूवी क्षेत्रमा महानगरका वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ वडा पर्छन् । यस क्षेत्रको ठेक्का ७९ करोड ५७ लाख रुपैयाँमा वल्र्डवाइड-कोहिनुर-रमिता जेभीले पाएको छ । २०८१ असोज १४ गते सम्झौता गरिएको यस प्याकेजको म्याद २०८३ असार मसान्तमा सकिन्छ ।

हालसम्म यस क्षेत्रको वडा नम्बर ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्ध सम्मको भित्री सडक कालोपत्र गरिएको छ । वडा नम्बर ९ को बत्तीस पुतली क्षेत्रका सडक, वडा नम्बर ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङ्भित्रका सडकहरू कालोपत्र गरिएका छन् । यस्तै सूर्यकोट र गैरी गाउँका विभिन्न भित्री सडक कालोपत्र गरी सकिएको छ ।

पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । २०८२ वैशाख ४ गते ठेक्का सम्झौता भएको यस प्याकेजको म्याद २०८४ वैशाख मसान्तसम्म छ ।

कार्यक्रमको यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार ४ वटा प्याकेजमध्ये यो प्याकेजमा सबैभन्दा पछि सम्झौता भएकोले अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्र गर्ने काम भएको छ । करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ ।

यसमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडकसहित बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लब), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिंक मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ ।

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस प्याकेजको ठेक्का ढुकुछु–आरए जेभीले ७३ करोड रुपैयाँमा पाएको छ । यसको म्याद २०८३ असार मसान्तसम्म छ ।

पूर्वी क्षेत्रका फोकल पर्सन ढकाल यस क्षेत्रको पनि फोकल पर्सन छन् । उनका अनुसार यस क्षेत्रमा २३ किलोमिटर सडक कालोपत्र भएको छ । ३ किलोमिटर सडक ढलान भएको छ । यसअन्तर्गत वडा नम्बर १ को दरबारमार्ग, नक्साल नागपोखरी, हात्तीसार र कमलादी क्षेत्र, वडा नम्बर ३ को बाँसबारी र महाराजगञ्ज क्षेका भित्री सडक, वडा नम्बर ४ को बालुवाटार, चुनदेवी, विशालनगरका भित्री सडकहरू, धुम्बाराही र सुकेधाराका भित्री सडकहरू कालोपत्र भइसकेको छ ।

वडा नम्बर २६ को मित्रनगरका भित्री सडकहरू, म्हेपी क्षेत्रका सडकहरू, वडा नम्बर २८ को अद्वैत मार्ग र बज्रवीर मार्ग, वडा नम्बर २९ को घट्टेकुलो मार्ग, वडा नम्बर ३० को सहिद मार्ग, राधे मार्ग, देवी मार्ग, गुर्जु मार्ग, धोवीधारा मार्गमा कालो पत्र भएको छ ।

मध्य क्षेत्रमा भित्री वडाहरू, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रमा अर्याल–यूएसजी–आरएस लक्ष्मी जेभीले ३४ करोड ३३ लाख रुपैयाँमा ठेक्का पाएको छ । यसको ठेक्का म्याद २०८४ जेठ मसान्तसम्म छ ।

यस क्षेत्रमा ४.५ किलोमिटर सडक कालोपत्र भएको छ । यस क्षेत्रबका फोकल पर्सन इञ्जिनियर समीर अधिकारीका अनुसार १।२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडक ढुङ्गा छाप्ने काम भएको छ । मध्य क्षेत्रको वडा नम्बर ११ को सूर्य मार्ग, समिति मार्ग, कारागार मार्ग र कुमारी समिति मार्ग, वडा नम्बर १२, १७, १८, १९ र २० छुने विष्णुमती करिडोर, वडा नम्बर १२ को पचली भैरव सडक र पचली भैरव परिसर, वडा नम्बर १७ को इखापोखरी क्षेत्रपाटी सडक, क्षेत्रपाटी ढल्कु सडक, वडा नम्बर २७ को ज्याठा मार्गमा कालोपत्र गरिएको छ ।

वडा नम्बर ११ भोटेवहाल पीपलबोट सडक, वडा नम्बर १२ मा पर्ने टेकु ट्रान्सफर स्टेशन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ । यसपछि वडा नम्बर ११ मा नदी करिडोरमा कालोपत्र गर्ने कार्य, वडा नम्बर २१ मा ढल तथा सडक निर्माण, २३ र २७ मा ढुङ्गा छाप्ने कार्य सुरू हुँदैछ ।


Back_to_top