भक्तपुर र ललितपुरबाट प्रतिमिनेट १२४ बाइक आउँछन् काठमाडौं

काठमाडौं । भरपर्दो सार्वजनिक यातायात नहुँदा काठमाडौं उपत्यकामा साना सवारी अर्थात् मोटसराइकल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै गइरहेको छ । सहज र समयमै गन्तव्य पुग्न मोटरसाइकल नै उपयुक्त मानिँदै आएको छ । 

बाटो साँघुरो हुँदा पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढेको हो । हालै काठमाडौं महानगरपालिकाले नगर भित्रका मुख्य चोकमा पिक आवरमा कति मोटरसाइकल गुड्छन् भनेर अध्ययन गरेको छ । 

महानगरपालिकाको सहरी योजना आयोगले गरेको अध्ययन अनुसार पिक आवर विहान ९ देखि ११ बजेसम्म ललितपुरबाट काठमाडौं तर्फ (कुपन्डोल–थापाथल) प्रतिमिनेट ६२ वटा मोरसाइकल आउने गरेको देखिएको छ । त्यस्तै भक्तपुरबाट काठमाडौं (जडीबुटी–कोटेश्वर) तर्फ प्रतिमिनेट ८० वटा मोटरसाकल आउने गरेको छ । 

त्यस्तै भक्तपुरबाट कोटेश्वरतर्फ पिक आवरमा प्रतिमिनेट २७ गाडी गुड्छन् । बिहानको पिक आवरमा १३ हजार तीन सय ४७ मोटरसाइकल र तीन हजार पाँच सय गाडी तथा साँझमा ५ हजार नौ सय ७८ मोटरसाइकल र ६ हजार चार सय ६८ गाडी चल्छन् । 

कोटेश्वरबाट भक्तपुरतर्फ एक मिनेटमा औसत ७६ मोटरसाइकल र ३४ गाडी गुड्छन् । बिहान ५ हजार ६ सय ६५ मोटरसाइकल र ४ हजार ३० गाडी तथा साँझमा १२ हजार ८ सय ८७ मोटरसाइकल र ५ हजार १ सय ४० गाडी गुड्छन्  । पुतलीसडक क्षेत्रमा व्यस्त समयमा प्रतिमिनेट १ सय ५६ मोटरसाइकल र ६१ गाडी गुड्छन् ।

ललितपुरबाट काठमाडौं (कुपन्डोल–थापाथली) सडकमा प्रतिमिनेट ६२ मोटरसाइकल र २४ गाडी चल्छन् । बिहान ८ हजार ३ सय ८६ मोटरसाइकल र ३ हजार ३ सय ३० गाडी तथा साँझ ६ हजार ५ सय ३४ मोटरसाइकल र २ हजार ५ सय ३० गाडी गुड्ने गरेका छन् । 

त्यस्तै थापाथलीबाट कुपन्डोलतर्फ प्रतिमिनेट ३६ मोटरसाइकल र १३ गाडी गुड्ने गरेको तथ्यांक महानगरले सार्वजनिक गरेको छ । बिहान ६ हजार १ सय १६ मोटरसाइकल र २ हजार ३ सय ७७ गाडी तथा साँझमा ७ हजार ८ सय ८७ मोटरसाइकल र ३ हजार ३ सय ४६ गाडी गुड्छन् । 

काठमाडौं महानगरपालिकाले यसरी अध्ययन गरेर महानगरभित्र हुने सवारी व्यवस्थापनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


Back_to_top