नयाँ वर्षसँगै पेट्रोल एसयूभी खोज्नेलाई थपिँदै ४ विकल्प

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ईभी र पेट्रोलबाट चल्ने प्यासेन्जर कार सेग्मेन्ट ५०/५० प्रतिशत आयात भएसँगै नयाँ मोडलहरू थपिने भएका छन् ।

भारतीय बजारमा बिक्री भइरहेका ४ एसयूभी माघ अन्तिमसम्ममा नेपालमा बिक्री सुरू हुने भएका हुन् । स्कोडा, हुन्डाई, टाटा र सुजुकीले बजारमा नयाँ एसयूभी उतार्ने भएका छन् ।

मूल्यको हिसाबले ४२ लाख रुपैयाँदेखि ८० लाख रुपैयाँसम्म पर्न सक्ने नयाँ एसयूभीहरू ४ मिटरदेखि ४.४ मिटर लम्बाइका हुनेछन् । भारतमा निकै राम्रो व्यापार गर्दै आएका हुन्डाई भेन्यू, सुजुकी भिक्टोरिस, टाटा सियरा र स्कोडा काइल्याक नेपाली बजारमा बिक्री सुरू हुने भएका हुन् ।

बजारमा पेट्रोल एसयूभीको माग बढ्दै गएको निस्कर्षसहित कम्पनीहरूले नयाँ मोडल बजारमा ल्याउन लागेका छन् । यी एसयूभीले कस्तो ब्यापार गर्ला अहिल्यै अनुमान लगाउन भने मुस्किल छ ।

आगामी फेब्रुअरी अन्तिमसम्ममा नेपाल आउने यी एसयूभी नेपालका सडक कन्डिसन अनुसार उपयुक्त मान्न सकिन्छ ।

स्कोडा काइल्याक

स्कोडा एमएडब्लू क्यारियरले नेपाली बजारमा बिक्री थाल्ने तयारी गरेको काइल्याक सब फोर मिटर एसयूभी हो । भारतमा यसले निकै राम्रो व्यापार पाइरहेको छ ।

नेपालमा डिसेम्बर अन्तिमबाटै बिक्री सुरू गर्ने योजना बताइए पनि केही ढिलोगरी यसको बिक्री थाल्न लागिएको हो । स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’मा तयार भएको काइल्याकको लम्बाइ ३९९५ एमएम छ । यसमा २५६६ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

स्कोडा काइल्याकको ग्राउण्ड क्लियरेन्स १८९ एमएम छ । यसमा १७ इन्चको ह्वील पाउन सकिन्छ । काइल्याकमा दिएको रुफरेल र क्लाइडिङले एसयूभी लुक्सलाई बलियो बनाएको छ ।

काइल्याकको ड्यासबोर्ड कुशक एसयूभीसँग मिल्दोजुल्दो देखिन्छ । एसी भेन्ट, क्लाइमेट कन्ट्रोल प्यानल, टु स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट स्क्रृन ठ्याक्कै कुशकको जस्तै छ ।

स्कोडको काइल्याकमा फक्सवागेन ग्रुपले उत्पादन गरेको थ्री सिलिण्डर १.० टीएसआई टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । कुशक एसयूभीमा पनि प्रयोग भएको उक्त इन्जिनले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

कम्पनीले सुरूवाती भेरियन्टको मूल्य ४५ लाख आसपास तोकेर काइल्याकको बिक्री थाल्ने तयारी गरेको हो ।

नयाँ जेनेरेशन हुन्डाई भेन्यू

लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको नयाँ जेनेरेशन हुन्डाई भेन्यू पनि फेब्रुअरीमा बिक्री सुरू हुने अनुमान छ । भारतमा बिक्री सुरू भएदेखि नै यसको डिजाइन र नयाँ सस्पेन्सन सेटअपले खुबै चर्चा पाएको छ ।

हुन्डाईले इन्जिन बाहेक भेन्यूमा व्यापक परिवर्तन गरेको छ । आकर्षक डिजाइन, टेक फिचरले भरिपूर्ण र धेरै भेरियन्ट अप्सनसहित भारतमा राम्रो संख्यामा यसको बिक्री भइरहेको छ ।

हुन्डाईको नयाँ भेन्यू पहिलाको भन्दा अग्लो र थप चौडा भएको छ । नयाँ भेन्यूको लम्बाइ ३९९५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६६५ एमएम छ । ह्वीलबेस पनि २० एमएमले लामो भएर २५२० एमएमको दिइएको छ ।

हुन्डाईले भेन्यूको क्याबिन एक्सपिरीयन्स उत्कृष्ट बनाउन यसको ड्सबोर्डमा इन्फोटेन्मेन्ट र डिजिटल क्लस्टरको लागि १२.३ इन्चको दुई कर्भ प्यानारोमिक डिस्प्ले दिएको छ ।

ड्यूल टोनको इन्टेरियर थीममा रहेको नयाँ भेन्यूमा एम्बीयन्ट लाइट, डी कट स्टेरिङ ह्वील, ड्यूल टोन लेदर सिट, २ स्टेप रिक्लाइन रियर सिट, रियर विण्डोसनसेड र रियर एसी भेन्ट दिएको छ ।

नयाँ भेन्यू पनि पहिलेकै जस्तो १.२ लिटर कापा एमपीआई पेट्रोल इन्जिनमा नेपाल आउने अनुमान गर्न सकिन्छ । भारतमा थप १.० लिटर जीडीआई पेट्रोल र १.५ लिटर सीआरडीआई डिजेल इन्जिन अप्सनमा पनि भेन्यू उपलब्ध छ ।

सुजुकी भिक्टोरिस

सीजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको नयाँ एसयूभी भिक्टोरिस आगामी माघ महिनाको अन्तिमसम्ममा बिक्री सुरू हुनेछ । भारतमा निकै राम्रो बिक्री भइरहेको भिक्टोरिस हाम्रो अनुमान अनुसार ५२ लाखदेखि ७५ लाख रुपैयाँ भित्रै बिक्री गर्नेगरी नेपाल आउने छ ।

सुजुकीले उत्पादन गरेको भिक्टोरिस एसयूभीको टप भेरियन्टमा लेभल २ एडास फिचर दिएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्लेको कम्बिनेसन ड्यासबोर्डमा उत्कृष्ट छ ।

एसयूभीलाई टेक फिचर र सुरक्षाको लागि अब्बल बनाउन वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्यागजस्ता फिचर दिइएको छ ।

सुजुकीले यसलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । जसमा १.५ लिटर पेट्रोल र १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन उपलब्ध छ ।

टाटा सियरा

भारतमा सन् २०२५ को सबैभन्दा बहुचर्चित लन्चको रूपमा टाटा सियरालाई लिइन्छ । पुरानो नेमप्लेटमा आएको नयाँ एसयूभी आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाल ल्याउँदैछ ।

सियरा एसयूभी टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको हो । बक्सी तथा मस्कुलर बडी डिजाइन भएको एसयूभीमा १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्याण्डल दिइएको छ ।

यसमा ट्रिपल स्क्रीनसहितको ड्यासबोर्ड छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।

सियरा एसयूभीमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स छ ।

सियरा १.५ लिटर डिजेल इन्जिनमा पनि उपलब्ध हुनेछ । यसले ११८ हर्सपावर र २६० न्युटन मिटर टर्क दिन्छ । टाटाले सियरा एसयूभीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कन्ट्रोल जस्ता फिचर दिएको छ ।


Back_to_top