काठमाडौं । सुजुकीले भारतमा उत्पादन गरेको नयाँ एसयूभी भिक्टोरिस नेपाल आएको छ । सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले भिक्टोरिस एसयूभी नेपाल ल्याएको हो ।
कम्पनी स्रोतका अनुसार यहि साता देशभर रहेका सुजुकीका शोरुमहरुमा भिक्टोरिस एसयूभी पुग्ने छ ।
‘हामी भोलिबाट डिलर नेटवर्कमा गाडी पठाउँदैछौं । यहि साताबाट गाडीको बिक्री सुरु हुन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
माइल्ड हाइब्रिड र स्ट्रङ हाइब्रिड मोडलसँग फोर ह्वील ड्राइभ सिस्टमसहित भोक्टोरिस नेपाली बजारमा उपलब्ध हुनेछ । अहिल्यै कति भेरियन्ट नेपालमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी बाहिर आएको छैन । तर, यसको सुरुवाती भेरियन्टको मूल्य भने ५० लाख ९९ हजारबाट तय गर्ने पक्का भइसकेको कम्पनी स्रोतले बतायो ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सुजुकीले उत्पादन गरेको भिक्टोरिसको टप भेरियन्टमा लेभल २ एडास फिचर रहेको छ । भारतमा बिक्री हुँदै आएको एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पाउन सकिन्छ ।

एसयूभीलाई टेक फिचर र सुरक्षाको लागि अब्बल बनाउन वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्यागजस्ता फिचर दिइएको छ ।
सुजुकीले यसलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । जसमा १.५ लिटर पेट्रोल र १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन उपलब्ध छ ।


