काठमाडौं । पुस महिनामा साढे ४ हजार बढी सवारी साधन सडक दुर्घटनामा परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा देशभर कुल २ हजार ७५६ दुर्घटना हुँदा ४ हजार ५४९ सवारी साधन परेका हुन् ।
कुल सवारी दुर्घटनामा आधा बढी मोटरसाइकल रहेका छन् । पुसमा ४ हजार ५४९ सवारी साधन दुर्घटनामा पर्दा मोटरसाइकल मात्रै २ हजार ३८२ वटा रहेका छन् । यो कुल दुर्घटनाको ५६.५० प्रतिशत हो ।
त्यस्तै, पुसमा १८० बस, ७३६ जिप, कार, माइक्रो, २८८ ट्रक, ट्यांकर, ट्रिपर, १३३ ट्रयाक्टर, २४७ ट्याम्पु, २१९ शारीरिक शक्तिबाट चल्ने सवारी, ९ डोजर, लोडर र २२ वटा अन्य सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ ।
सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिन्छ । तीव्र गतिमा सवारी चलाउँदा, मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा, जथाभावी ओभरटेक गर्दा लगायत कारणले सवारी दुर्घटान भएका हुन् ।
पुसमा सडक दुर्घटनामा परी २३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९२ पुरुष, ३१ महिला, १० बालक र ५ बालिका रहेका छन् । त्यस्तै, दुर्घटनामा ६६३ जना गम्भीर घाइते र ३ हजार ३५३ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।


