काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले आफ्नो ‘फाइभ सी अल्ट्रा-फास्ट चार्जिङ’ हुने ब्याट्रीको डिटेल सार्वजनिक गरेको छ । कम्पनीले एक भिडियो सार्वजनिक गर्दै फाइभ सी ब्याट्रीको बारेमा जानकारी दिएको हो ।
सीएटीएलका अनुसार फाइभ सी ब्याट्री सामान्य अवस्थामा ३ हजार साइकल रिचार्ज गर्दा १० लाख किलोमिटर गुड्छ । त्यति बेला ब्याट्री हेल्थ ८० प्रतिशत हाराहारी बाँकी रहने कम्पनीको दाबी छ । त्यसपछि पनि सजिलै अर्को ८ लाख किलोमिटरसम्म ब्याट्री प्रयोग गर्न सकिने सीएटीएलले दाबी गरेको छ ।
कम्पनीको दाबी अनुसार यो ब्याट्री लाइफ अहिले हाइ भोल्टेज ब्याट्री उद्योगको औषतभन्दा ६ गुणा बढी हो । साथै, एउटा कारको जीवनभन्दा पनि ब्याट्रीको जीवन धेरै हो ।
सीएटीएलले दुबईको ६० डिग्री अत्याधिक तातोमा चलाउँदा पनि १४०० साइकलपछि ब्याट्री हेल्थ ८० प्रतिशत रहने दाबी गरेको छ । जुन करिब ८ लाख ४० हजार किलोमिटर चलाउन पुग्ने बराबर हो ।
चिनियाँ हाइ भोल्टेज ब्याट्री निर्माताले आफ्नो फाइभ सी ब्याट्री लगभग १२ मिनेटमा फुलचार्ज हुने दाबी गरेको छ । त्यसैले यसलाई अल्ट्रा फास्ट चार्जिङ श्रेणीमा राखिएको हो ।
सुरक्षाको मामलामा पनि निकै सुरक्षित फाइभ सी ब्याट्री थर्मल रनवेको सम्भावना न्यून रहेको दाबी कम्पनीले गर्छ । कम्पनीका अनुसार फाइभ सी ब्याट्री ट्रक, ट्याक्सी र राइड हेलिङ सेवामा प्रयोग हुने साधनको लागि निकै उपयोगी हुन्छ ।


