काठमाडौं । ट्राफिक प्रहरीले लागू पदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलिले ललितपुरको सुनाकोठीमा गरेको नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिएकाहरूमा मिनिट्रक, मोटरसाइकल (राइड सेयिरिङ) र स्कुटर चालक २/२ जना रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागू पदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरित तथा दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ ।
लापसे गरी चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।


