अब बैंकहरूले ‘सडक टोल तिर्ने’ कार्ड जारी गर्न पाउने

सांकेतिक तस्बिर ।

काठमाडौं । अब वाणिज्य बैंकहरूले सडक दस्तुर (टोल) संकलनका लागि कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ को बुँदा नं. १ को (२) मा उपबुँदा (ख) थप्दै बैंकहरूलाई डिजिटल भुक्तानीमा नयाँ अधिकार दिएको हो ।

राष्ट्र बैंकका अनुसार अब वाणिज्य बैंकहरूले सरकारले तोकेको सडक खण्डमा संचालन हुने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि आरएफआइडी चिप भएको प्रिपेड ट्यागरकार्ड जारी गर्न पाउने छन् ।

‘अनुमतिपत्रप्राप्त क वर्गका वाणिज्य बैंकले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (Toll Fee) संकलन गर्ने प्रयोजनका लागि RFID Chip Based Prepaid Tag Card जारी गर्न सक्नेछन्,’ राष्ट्र बैंकको नयाँ व्यवस्थामा भनिएको छ ।

यो विशेष सुविधा हाललाई वाणिज्य बैंकले मात्र प्रयोग गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । सो अनुसार हाल संचालनमा रहेका २० बैंकले यस्तो कार्ड जारी गर्न सक्नेछन् ।

यो कार्डले सडक टोल संकलन कार्यलाई डिजिटल बनाउनुका साथै सहज समेत बनाउने छ । यो कदमले नेपालको सडक यातायात क्षेत्रमा हुने वित्तीय कारोबारलाई डिजिटल, पारदर्शी र छरितो बनाउने राष्ट्र बैंकको विश्वास छ ।

सरकारले हाल नागढुंगा नौबिसे सुरुङसहित २३ वटा सडकबाट सडक टोल शुल्क उठाउन सक्ने व्यवस्था गरेको छ । यद्यपि, हाल सबै सडकमा लागू भएको छैन । करिब आधादर्जन सडकमा टोल शुल्क उठाउने तयारी भइरहेको सडक बोर्ड नेपालले जनाएको छ ।


Back_to_top