ईभी चार्जिङ पोइन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौरमा विद्युतीय चार्जिङ पोइन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । बुधवार बिहान करिब ४ बजेतिर भएको घटनामा थप ३ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार इन्दौरको बंगाली चौराहनजिकै रहेको एक कोलोनीमा रहेको ईभी चार्जिङ पोइन्टमा आगलागी भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

यद्यपि, आगलागीको कारण इलेक्ट्रीक कार हुन् वा अन्य कारण भने खुलेको छैन । आगलागी भएको घरभित्र रहेका १० बढी ग्यास सिलिन्डरहरू आगोका कारण विष्फोट भएकाे बताइएको छ ।

इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहका अनुसार कोलोनीको तीन तले घर बाहिर एउटा कार चार्ज भइरहेको थियो । उनले उक्त चार्जिङमा राखिएको इलेक्ट्रीक कारबाट आगो सल्किन सुरू भएको हुन सक्ने बताएका छन् । यद्यपि, आगो कहाँबाट सुरू भयो भन्ने ठ्याक्कै पुष्टि गर्न गाह्रो भएको उनकाे भनाइ छ ।

‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो । केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिण्डर राखिएका थिए,’ उनले भने ।

घरका ढोकाहरूमा इलेक्ट्रोनिक लकहरू जडान गरिएका थिए जसले गर्दा प्रहरीलाई भित्र पस्न गाह्रो हुँदा उद्धारमा समस्या भएको थियो ।


Back_to_top