काठमाडौं । चालू आर्थिक वर्षको दस महिनामा २६ हजार ५९८ सवारी चालक मादक पदार्थ सेवन (मापसे)को कारबाहीमा परेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत साउनबाट वैशाख मसान्तसम्ममा १ सय ८९ जना महिला र २६ हजार ४०९ पुरुष सवारी चालक मापसे कारबाहीमा परेका हुन् ।
महाशाखाका अनुसार चालू आवमा सवारी कारबाही मार्फत २६ करोड ८५ लाख ४० हजार राजश्व उठेको महाशाखाले जनाएको छ । गत आर्थिक वर्षमा भने ५८ जना महिला र ३२ हजार २३४ पुरुष गरि कुल ३२ हजार २ सय ९२ जना सवारी चालक मापसे कारबाहीमा परेका थिए । तथ्यांकले पछिल्लो समय मापसे कारबाहीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ ।
तुलनात्मक रुपमा हेर्दा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या करिब दोब्बरले बढेको छ । यो वर्ष दश महिनामा नै मापसे गरी सवारीसाधन चलाएका २७ हजार ४६० जनाले मापसे सचेतना कक्षामा सहभागी लिइसकेको महाशाखाले जनाएको छ ।
यस्तै दस महिनाको अवधिमा १७ हजार ९५२ वटा लाइसेन्समा प्वाल पारिएको छ भने २८ वटा निलम्बन गरिएको छ ।


