काठमाडौं । हुन्डाई मोटरले नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले हालको क्रेटा इलेक्ट्रीकभन्दा तल्लो श्रेणीको नयाँ एसयूभी ल्याउने भएको हो ।
हुन्डाईले नयाँ इलेक्ट्री एसयूभी भारतमा उत्पादन गर्नेछ । जुन घरेलुसँगै अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गरिने छ । हुन्डाईको नयाँ ईभी हाल परीक्षणको क्रममा छ । भारत र दक्षिण कोरियामा पूरै ढाकिएर परीक्षण भइरहेको तस्बिरहरू सार्वजनिक भएका छन् ।
सार्वजनिक तस्बिर अनुसार यो नयाँ एसयूभी टल ब्वाय डिजाइन र बलियो बनावटमा आउनेछ । यसको मुख्य विशेषता ‘पिक्सेल डिजाइन’ भएको एलईडी डीआरएल हुनेछ । यसमा हुन्डाईको लोगो पनि पिक्सेल शैलीमा देखिन्छ। हेडलाइटहरू अलि तलतिर चारकुने आकारमा राखिएको छ । जसभित्र मल्टि बिम एलईडी लाइटहरू जडान गरिएको छ ।
यसमा फ्लस डोर ह्याण्डल र आकर्षक ज्योमेट्रिक प्याटर्न भएका एलोय ह्वील्स छन् । यसको छतमा सामान बोक्न मिल्ने खालको ‘रुफ रेल्स’ दिइएको छ । साथै, चक्काको घेरा र ढोकाहरूमा मोटो प्लास्टिक क्ल्याडिङ प्रयोग गरिएको छ ।
बक्स आकार भएकाले यो एसयूभीमा यात्रुहरूका लागि पर्याप्त र फराकिलो ठाउँ हुनेछ। पछाडिको भागमा टेल लाइटहरूलाई जोड्ने पट्टी छ। साथै, पछाडि एउटा आधुनिक स्पोइलर पनि छ जसमा ब्रेक लाइट जडान गरिएको छ।
इन्टेरियरमा १२.३ इन्चका दुईवटा स्क्रीनहरू, स्टेयरिङमै भएको गियर बदल्ने लिभर, राम्रो साउण्ड सिस्टम, लेभल २ एडास, ३६० डिग्री क्यामेरा, चारै चक्कामा डिस्क ब्रेक, भेन्टिलेटेड सिटहरू लगायत सुविधा रहने अपेक्ष छ ।
यसमा ४० किवोवाट आवरको ब्याट्री हुनसक्छ । जसले एकपटकको फुलचार्जमा ४०० देखि ५०० किलोमिटरसम्म रेन्ज दिनेछ । यो गाडीले १० सेकेण्डभन्दा कम समयमा १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ । यसमा भी टु एल र भीटुभी प्रविधि पनि हुन सक्छ ।
हुन्डाईको नयाँ इलेक्ट्रीक एसयूभीले बजारमा चर्चित टाटा नेक्सन ईभी, टाटा पन्च ईभी र महिन्द्रा एक्सयूभी थ्री एक्सओ ईभी जस्ता एसयूभीलाई प्रतिस्पर्धा गर्नेछ ।
यो एसयूभी यसै वर्षको अन्त्य वा सन् २०२७ काे सुरूमा सार्वजनिक हुनसक्ने सम्भावना छ ।


