काठमाडौं । सरकारले काठमाडौंमा बस र्यापिड ट्रान्जिट (बीआरटी) सेवा संचालन गर्ने घोषणा गरेको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले बीआरटीको विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरू गर्ने बताए । ‘काठमाडौंमा बस र्यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरू गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
बीआरटी भनेको बसलाई रेलजस्तै छिटो, व्यवस्थित र भरपर्दो बनाउने सार्वजनिक यातायात प्रणाली हो । यसमा बसका लागि छुट्टै लेन, आधुनिक बस स्टेसन, निश्चित समय तालिका र द्रुत टिकट प्रणाली हुन्छ ।
यसले यात्रुको समय बचत, ट्राफिक जाम कम गर्न, निजी सवारीको प्रयोग घटाउन, प्रदूषण कम गर्न, कम खर्चमा ठूलो जनसंख्यालाई सेवा दिन सक्छ ।


