काठमाडौं । सुनकोशी नदीमा पानीको बहाव बढेसँगै पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुई मुख्य दुई स्थानको अस्थायी बेलिब्रिज निकालिएको छ ।
खोटाङ र उदयपुर बङ्शिलाघाट र फोक्सिङटारको अस्थायी बेलिब्रिज निकालिएको हो । यससँगै खोटाङको पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ ।
फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा बेलिब्रिज जडान गर्ने र वर्षायाममा निकाल्ने गरिँदै आइएको छ ।
पूर्वाधार विकास कार्यालय खोटाङका अनुसार वैशाख २७ गतेदेखि बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको छ । अब उक्त पुल हिउँद लागेपछि मात्रै पुनः जडान गरिने छ । यो बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ गाउँपालिका र भोजपुरको केही गाउँलाई सिधा तराईसँग जोड्छ ।
बङ्शिलाघाटमा ३३ महिनाभित्र काम सक्नेगरी गर्न २०७९ मंसिर १ गते पक्की पुल निर्माणको ठेक्का लगाइए पनि अझै पूरा हुन सकेको छ । यो पुल निर्माणको ठेक्का १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा कालिका(वेदांसी जेभीले सम्झौता गरेको छ।
त्यस्तै, फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ । सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल-गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेबाट संचालनमा ल्याइएको थियो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने र निकाल्ने ठेक्का एमएरएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी-३ उदयपुरले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ९६ लाख ७७ हजार ९३७ मा लिएको हो।
फोक्सिङटारमा पक्की पुल गत वर्ष आएको बाढी बगाएको थियो । उक्त स्थानमा पक्की पुल पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । दिक्तेल(गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माणका लागि अर्थमन्त्रालयले गत वर्षको चैतमा ३५ करोड बजेट सुनिश्चित गरेको थियो ।


