काठमाडौं । भारतले दुई सातामै तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
अन्तर्राट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय तेल कम्पनीहरुले पेट्रोलको मूल्य प्रतिलिटर ०.८७ भारु र डिजेलमा ०.९१ भारुले बढाएका हुन् ।
भारतले इन्धनको मूल्य मे महिनामा मात्रै तेस्रो पटक बढाएको हो । यसअघि पेट्रोल र डिजेलको मूल्य मे १५ मा ३ भारु र मे १९ मा औसत ९० पैसा भारु बढाइएको थियो ।
मूल्यवृद्धिपछि दिल्लीमा डिजेलको मूल्य प्रति लिटर ९५.२० भारु र पेट्रोलको मूल्य १०२.१२ भारु पुगेको छ ।
भारतीय सरकारी तेल कम्पनीहरूले आफूलाई ठूलो घाटा रहेको बताउँदै आएका छन् । मूल्यवृद्धि गर्नुअघि उनीहरुले मासिक १ हजार करोड भारु घाटा व्यहोरिरहेको दाबी गर्दै आएका थिए ।
इरान युद्ध र हर्मुज जलमार्गमा जारी अवरोधका कारण आपूर्तिमा श्रृंखला प्रभावित भइरहेको छ । जसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुका साथै ढुवाली लागत समेत वृद्धि भएकाले तेल कम्पनीहरूले मूल्य बढाएका हुन् ।
भारतको पेट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयले पेट्रोल र डिजेलको पर्याप्त मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आत्तिएर अत्यधिक खरिद नगर्न आग्रह गरेको छ ।
भारतमा इन्धनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । किनभने नेपाल पेट्रोलियम पद्धार्थमा पूर्णरुपमा भारतमा निर्भर छ । भारतमा बढेसँगै नेपालमा पनि मूल्य बढेर आउने छ ।


