साना कारकाे जस्तै मोटरमा यात्री पी-२, ४१ मिनेटमै ८०% चार्ज हुने

काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ निकै शक्तिशाली मोटर र ठूलो ब्याट्री साइजमा आउने भएको छ ।

सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल कम्पनीले संयुक्त रुपमा उत्पादन गरेको यात्री पी २ स्कुटर १० किलोवाटको मोटरमा आउने भएको हो ।

जुन नेपालमा उपलब्ध इलेक्ट्रीक स्कुटरहरुकोभन्दा निकै ठूलो साइज हो । हाल नेपालमा उपलब्ध इलेक्ट्रीक स्कुटरमा २.५ किलोवाटदेखि अधिकतम ६.५ किलोवाटसम्मको मोटर रहेको छ ।

साथै, यात्री पी २ को दिइएको मोटर झण्डै मिनी कारमा प्रयोग हुने मोटर जत्रै हो । त्यस्तै, यात्रीमा ब्याट्री पनि निकै ठूलो क्षमताको प्रयोग गरिएको छ । कम्पनीले यसमा ५.२ किलोवाट आवरको ब्याट्री दिएको छ । हाल बजारमा उपलब्ध स्कुटरमा २ देखि ४ किलोवाट आवरको ब्याट्री पाइन्छ ।

पी २ को ब्याट्रीले एकपटकको फुलचार्जमा १५७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यात्रीले पी २ मा स्कुटर सेग्मेन्टमै पहिलोपटक डीसी फास्ट चार्जर दिएको छ । फास्ट चार्जरबाट केबल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाइ छ ।

यो स्कुटर होम चार्जरबाट पनि निकै छिटो अर्थात् २ घण्टा ५० मिनेटमै ८० प्रतिशतस्म्म चार्ज हुन्छ । अरु स्कुटर फुलचार्ज गर्न सामान्यतया ४ देखि ७ घण्टासम्म लाग्छ ।

यात्री पी २ मा १३९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वीलबेस लामो हुँदा स्कुटर उच्च गतिमा गुड्दा वा खाल्डाखुल्डी भएको बाटोमा पनि बढी सन्तुलित र स्थिर रहन्छ। साथै, लेगरुम फराकिलो हुने भएकाले आरामादायी हुन्छ ।

यात्री पी १४ इन्चको अलोय ह्वीलका साथ आउने भएको छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ । जुन नेपाल जस्तो भौगोलिक विविधता र कच्ची सडक भएको स्थानका लागि निकै उपयोगी हो ।

यात्री पी २ को डिजाइन, डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएको हो । कम्पनीले पी २ लाई हजारौं किलोमिटर परीक्षण गरी देखिएका कमजोरी सुधारेर एउटा प्रफेक्ट मोडलका रुपमा बजारमा ल्याउँदै छ ।

परीक्षणको चरणमा देखिएका तस्बिर र कम्पनीले सार्वजनिक गरेको टिजर अनुसार पी टु झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिन्छ । यसको डिजाइन अन्य स्कुटरभन्दा फरक देखिन्छ ।

अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिन्छ । सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरिएको छ । मिडमाउण्ट मोटर रहेको पी टुमा एलईडी हेडल्याम्प दिइएको छ । यसमा आल्मुनियम स्वीङ आर्म, डबल साइडेड स्प्रिङ सस्पेन्सन, सार्प एजहरूको प्रयोग गरिएको छ ।

यो स्कुटर भोलि नाडा अटो शो २०२६ मा सार्वजनिक हुँदैछ । अधिकांश पक्षमा निकै बलियो रहेको पी २ उचित मूल्यमा आएमा यसले बजारमा राम्रो पकड जमाउन सक्ने देखिन्छ ।


Back_to_top