भारतमा पार्टनर खोज्दै होण्डा

काठमाडौं । जापानी कार निर्माता कम्पनी होण्डाले भारतमा आफ्नो व्यवसाय विस्तार गर्न पार्टनर (साझेदारी) खोजिरहेको खुलासा भएको छ ।

कम्पनीले आफ्नो लागत घटाई प्यासेन्जर भेहिकल बजारमा आफ्नो पकड पुनः बलियो बनाउनका लागि भारतमा साझेदारीको सम्भावनाहरू सक्रिय रूपमा खोजिरहेको कम्पनीका वरिष्ठ अधिकारीहरूले बताएका हुन् ।

होण्डा कार्स इन्डियाका अध्यक्ष तथा सीईओ ताकासी नाकाजिमाले आफूहरूले सक्रिय रूपमा भारतमा साझेदारहरू खोजिरहेको बताएका हुन् ।

उनले भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा, हामी सधैं साझेदारीका लागि खुला छौं । दुर्भाग्यवश अहिल्यै हामीसँग थप कुराहरू साझा गर्नका लागि केही छैन । तर, रणनीति अनुसार भन्नुपर्दा हामी खुला छौं । र, सक्रिय रूपमा साझेदारहरू खोजिरहेका छौं ।’

यद्यपि, नाकाजिमाले यो साझेदारी टेक्नोलोजी सेयरिङ, क्रस ब्याजिङ व्यवस्था (एउटाको गाडी अर्को ब्राण्डमा बेच्ने), इन्जिन वा पावरट्रेन खरिद, अन्य सवारी उत्पादक कम्पनीहरूसँगको आपूर्ति साझेदारी मध्ये कुन विषयमा केन्द्रित छ भन्ने खुलाएका छैनन् ।

यो भनाइ होण्डा व्यवस्थापनको तर्फबाट भारतमा साझेदारीको मूल्याङ्कन गरिरहेको पहिलो आधिकारिक पुष्टि हो । विश्वभरका अटो निर्माताहरू लागत घटाउन र प्रविधिहरू सेयर गर्न साझेदारी गरिरहेको बेलामा होण्डाले पनि नयाँ कदम अघि सारेको हो ।

सम्भावित साझेदारीले होण्डालाई भारतमा आफ्नो उत्पादनको दायरा बढाउन, स्थानीय स्तरमै पार्टपुर्जाहरू जुटाउन र आफ्नो पोर्टफोलियो विस्तार गर्न मद्दत गर्न सक्छ । कम्पनीका हाल ग्रेटर नोएडा र राजस्थानको टापुकारामा उत्पादन प्लाण्टहरू रहेका छन् ।

वर्षौंदेखि बजार हिस्सा घट्दै गएसँगै होण्डाले भारतका लागि आफ्नो रणनीतिमा फेरबदल गरिरहेको छ । होण्डाले हाल एलिभेट एसयूभी, सिटी र अमेज सेडान जस्ता सीमित मोडल मात्रै बेच्दै आएको छ । भारतमा सर्वाधिक बिक्री हुने सब फोर मिटर एयूभी सेग्मेन्टमा होण्डाको कुनै मोडल छैनन् ।

होण्डाको व्यवस्थापनले हालै मात्र कम्पनीको परम्परागत ‘ग्लोबल स्ट्यान्डर्ड’ उत्पादन रणनीति भारतीय ग्राहकहरूको आवश्यकतासँग पूर्ण रूपमा मेल नखाएको कुरा स्वीकार गरेको थियो । होण्डाले अब भारतलाई उत्तर अमेरिका र जापानसँगै आफ्ना तीन प्रमुख विश्वव्यापी बजारहरूमध्ये एक मानेको छ ।

कम्पनीले सन् २०२८ देखि भारत केन्द्रित मोडलहरू बजारमा ल्याउने योजना बनाएको छ । जसले ४ मिटरभन्दा छोटा एसयूभी र मिडसाइज एसयूभी सेग्मेन्टलाई लक्षित गरेको छ ।


Back_to_top