काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्ग अन्तगर्त १६५ किलोमिटर लामो चन्द्रौटा-कोहलपुर सडक चार लेनमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाएको छ ।
सडक विभागले उक्त सडकखण्डको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो ।
पूर्व–पश्चिम राजमार्ग विस्तार अन्तर्गत हाल पश्चिमतर्फ नारायणगढ-बुटवल-चन्द्रौटा खण्डमा काम भइरहेको छ । अब दोस्रो चरणमा चन्द्रौटाबाट कोहलपुरसम्म विस्तार गर्न लागिएको हो । यो सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति गरिने भएको हो ।
चन्द्रौटा-कोहलपुर सडकको चन्द्रौटादेखि धानखोलासम्मको १७ किलोमिटर खण्ड कमजोर पहाडी क्षेत्रमा पर्ने भएकाले वैकल्पिक मार्गहरू उच्च स्तरका पुल, भायडक्ट र छोटो सुरुङ मार्ग समेतको अध्ययन गरिनेछ ।
साथै सडक विस्तारका विभिन्न विकल्पहरूको प्राविधिक, आर्थिक, वातावरणीय तथा सामाजिक पक्षबाट विश्लेषण गरी उपयुक्त विकल्प छनोट गरिने विभागले जनाएको छ ।
परियोजना अन्तर्गत वन्यजन्तु आवतजावतका लागि ओभरपास, अण्डरपास, क्यानोपी ब्रिज, सुरक्षा बार र अन्य वन्यजन्तुमैत्री संरचनाको व्यवस्था गर्ने अध्ययन गरिनेछ ।
यो सडक सडकमा बजार क्षेत्रमा सेवा लेन, ग्रेड-सेपरेटेड इन्टरसेक्सन, फ्लाइओभर, अन्डरपास, पैदलमार्ग, बस बे, ट्रक पार्किङ, विश्रामस्थल, यूटर्न सुविधा, तौल मापन केन्द्र लगायत सडक सुरक्षा पूर्वाधार बनाइने गरी अध्ययन गरिने छ ।
हाल चन्द्रौटा-कोहलपुर खण्डमा ७१ वटा पुल छन् । सडक विस्तार गर्दा ती पुल भएको ठाउँमा पुनःनिर्माण वा नयाँ पुल निर्माणको आवश्यकता समेत मूल्यांकन गरिनेछ ।
यो सडक डिजाइन एण्ड बिल्ड मोडलमा बनाउन लागिएको हो । सडक विभागले पुलहरूमा डिजाइन एन्ड बिल्ड मोडल सफल रूपमा प्रयोग गरिसकेको भए पनि सडकमा यो पहिलो प्रयोग हुनेछ । परामर्शदाताले चार लेन स्तरोन्नतिका लागि डिजाइन एण्ड बिलड सम्बन्धी आवश्यक मापदण्ड र दर विश्लेषण समेत तयार गर्नुपर्नेछ ।


