नाइमा र नाडा अटो शोको तयारीमा जुटे बिक्रेता, कुन ब्राण्ड कता ?

काठमाडौं । अटोमोबाइल क्षेत्रमा क्रियाशिल दुबै संस्थाले अटो शोको स्टल बाँडफाँड गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन् । स्टल बाँडफाँडसँगै सबै सहभागि हुने कम्पनीहरु अटो शोको तयारीमा जुट्ने छन् ।

गतवर्ष नाइमा र नाडाले फरक समयमा एउटै भेन्यूमा अटो शो आयोजना गरेका थिए । २०८२ साल साउन २१ गतेबाट नाइमा नेपाल मोबिलिटी एक्स्पो काठमाडौंको भृकुटीमण्डमा आयोजना भएको थियो ।

भदौ ४ गतेदेखि त्यही भृकुटीमण्डपमै नाडा अटो शो २०२५ आयोजना भयो । यी दुवै अटो शोको मुख्य उद्देश्य बिक्रेताहरूले आफूले बिक्री गर्ने मोडलहरू देखाउने र बिक्री गर्ने नै हो । त्यसैले अटो शोको दौरान हरेक दिन कति गाडी बुकिङ भयो भन्ने विषयलाई हाइलाइट गरेर मिडियामा प्रचार गरिन्छ ।

नाइमा सवारी साधन आयात गर्ने आयातकर्ताहरूको संस्था हो । यसमा पार्ट्स लगायतका अटो क्षेत्रसँग जोडिएका उत्पादनको आयातकर्ताहरूलाई मिसाइएको छैन ।

नाडा ५० वर्षको इतिहास बोकेको पुरानो संस्था हो । जहाँ अटो क्षेत्रमा काम गर्ने चाहना राखेका संस्थाहरूले सदस्यता पाएका छन् । सबै प्रदेशहरूमा नाडाको संरचना छ ।

अटो शोमा कित्ताकाट

नाइमाले स्थापनाको पहिलो वर्षमा नै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्यो । जहाँ सदस्य रहेका संस्थाहरूले सहभागिता जनाए ।

नाइमा भित्र टोयोटा, निसान, हुन्डाई, केई, ओमोडा, जेको, आइकार, एमजी, आइएम, किया, महिन्द्रा, होण्डा, प्रोटोन, हेनरी लगायतका ब्राण्ड छन् । यी सबै ब्राण्डले अघिल्लो वर्षको नाइमा मोबिलिटी एक्स्पोमा भाग लिएका थिए । यस पटकको एक्स्पोमा पनि यीनै कम्पनीहरू सहभागि हुँदैछन् ।

नाडामा बसेका कम्पनीको संख्या पनि लगभग उस्तै छ । नाडा अटो शोमा भागलिने कम्पनीहरूमा टाटा, सुजुकी, स्कोडा, दीपल, नामी, अवतार, आयोन, एक्सपेङ, डायुन, रेडारा, जिली लगायतका ब्राण्ड छन् ।

आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा अघिल्लो वर्ष नाइमा एक्स्पोमा सहभागी भएका धेरै ब्राण्डले आफ्नो उत्पादन देखाउने छन् । त्यसका अलावा यसपटक १/२ वटा नयाँ ब्राण्डका स्टल पनि नाइमा मोबिलिटी एक्स्पोमा देख्न पाइने छ ।

मोटरसाइकल बिक्रेताहरु पनि दुबै तिर बाँडिएका छन् । चल्तीका ब्राण्ड यामाहा र हिरो नाडा अटो शोमा हुनेछन् । त्यसैगरी, होन्डा, बजाज र टीभीएस नाइमा मोविलिटी एक्स्पोमा सहभागि हुन्छन् । रोयल इनफिल्ड दुबै अटो शोमा सहभागि हुने देखिन्छ ।

करिब ५५ हाराहारीको संख्यामा स्टलहरु रहने छन् । यस पटक नाइमा मोविलीटी एक्स्पोमा बैंक तथा बीमा कम्पनीहरुको पनि उपस्थिति रहनेछ ।

नाडा अटो शो २०२६ भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमै आयोजना हुनेछ । नाडा अटो शोमा पनि केही नयाँ ब्राण्ड थपिने छन् । यसका अलवा पुराना अधिकांश ब्राण्डले आफ्नो उपस्थिति पक्का गरिसकेका छन् । यसमा कारहरुका अलाव लाइट कमर्शियल र कम्पोनेन्टहरु पनिको पनि स्टल रहने छ । जहाँ मेड इन नेपाल उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छ ।

त्यसैले २०८३ सालको दशैं अगाडि काठमाडौंमा दुई वटा अटो शो हुने छन् । यी दुवै अटो शोमा दर्जनौं नयाँ मोडल सार्वजनिक हुने सम्भावना छ । साथै, उपभोक्ताले पनि एउटै छानामुनी थुप्रै ब्राण्डका कारहरू हेर्न पाउने छन् ।


Back_to_top