चीनमा चम्कियो ईभी, धेरै बिक्री १० मोडलबाटै पेट्रोल कार आउट

काठमाडौं । बिस्तारै चीन प्योर ईभीमा केन्द्रित हुँदै गएको देखिएको छ । सुरुमा प्योर ईभी, हाइब्रिड, इआरईभी जस्ता अनेकन प्रविधियुक्त न्यू इनर्जी भेहिकलमा अल्झिएका चिनियाँ उपभोक्ता अब प्योर ईभीमा गएको देखिन्छ ।

मे २०२६ को बिक्री तथ्यांक सार्वजनिक हुँदा सर्वाधिक बिक्री भएको ५ मोडलको सूचीमा सबै प्योर ईभी मात्रै अटाएका छन् । त्यसपछि टप १० भित्र पनि प्योर आइसीइ भेहिकल अटाउन सकेनन् । टप १० भित्र ईभी र हाइब्रिड मात्रै अटाएका हुन् ।

गत महिना सर्वाधिक बिक्री भएको मोडल जिलीको इएक्स टु ह्याचव्याक कार हो । यसको बिक्री चीनमा निरन्तर बढ्दै गएको छ । कम्पनीले मे महिनामा ३८ हजार ७५१ युनिट इएक्स टु बिक्री गर्न सफल भएको हो ।

दोस्रो स्थानमा अमेरिकी न्यू इनर्जी भेहिकल जाइन्ट टेस्लाको मोडल वाई रहेको छ । प्रिमियम कार खोज्नेको रोजाइमा पर्दै आएको मोडल वाई गत महिना २८ हजार ९११ युनिट बिक्री भएको थियो ।

सूचीको तेस्रो स्थामा साओमी एसयू सेभेन परेको छ । साओमीले मे महिनामा २४ हजार २३ युनिट प्योर ईभी बिक्री गरेको हो ।

भर्खरै मात्रै बजारमा आएको लीपमोटरको ए-१० एसयूभी पनि टप फाइभ भित्र अटाएको छ । लीपमोटरले २२ हजार ३०६ युनिट ए-१० एसयूभी बिक्री गरेको हो ।

सूचीको पाँचौ स्थानमा एलआई अटोको आइ सिक्स मोडल परेको छ । कम्पनीले २० हजार ८७८ युनिट आइ सिक्स मे महिनामा बिक्री गर्न सफल भयो ।

टप पाँच भित्र अटाउन नसकेपनि धेरै मोडलको बिक्री गर्ने बीवाइडी समग्र बिक्रीमा भने पहिलो नै छ । बीवाइडीको सिलायन सिक्स मे महिनामा सबैभन्दा बढी बिक्री भएको मोडल हो । समग्रमा छैटौ धेरै बिक्री भएको सिलायन सिक्स १८ हजार ८५६ युनिट बिक्री भएको थियो ।

सातौं धेरै बिक्री टेस्ला मोडल थ्री भयो । उसले १८ हजार ३७० युनिट कार मे महिनामा बिक्री गरेको थियो । विलिङको मिनी ईभी १८ हजार ३०८ युनिट सहित आठौं स्थानमा परेको छ ।

नवौं स्थानमा आइटो एम सिक्स १८ हजार १४८ युनिटसहित पर्दा दशौं स्थानमा फाङ चाओ बाओ टीआई सेभेन पर्न सफल भयो । कम्पनीले १७ हजार ५१० युनिट टीआई सेभेन बेच्यो ।


Back_to_top