काठमाडौं । प्रोटोनको इलेक्ट्रीक एसयूभी इमास सेभेनमा नयाँ ब्याट्री प्रयोग भएको छ । कम्पनीले मलेशियन अटो शोमा पहिलेभन्दा ठूलो साइजको ब्याट्रीमा इमास सेभेन लन्च गरेको हो ।
कम्पनीले यसअघि प्रयोग गरेको ६०.२२ किलोवाट आवरको ब्याट्रीको सट्टा नयाँ ६८.३९ किलोवाट आवरको एजिज सर्ट ब्लेड ब्याट्री प्रयोग गरेको छ । उक्त ब्याट्री जिलीले उत्पादन गरेको हो । प्रोटोन जिलीको लगानी भएको मलेशियन ब्राण्ड हो ।
कम्पनीले सार्वजनिक गरेको प्रोटोन इमास सेभेन अब तीन भेरियन्टमा उपलब्ध हुनेछ । प्राइम, प्रिमियम र प्रिमियम प्लस भेरियन्टको साथ मलेशियामा बिक्री सुरु भएको अपडेटेड इमास सेभेन छिट्टै नेपालमा पनि उपलब्ध हुनेछ ।
यसअघि ४१० किलोमिटर डब्लूएलटीपी रेन्ज रहेको इमास सेभेनको ब्याट्री साइज वृद्धि भएसँगै रेन्ज पनि बढेर ४५० किलोमिटर पुगेको कम्पनीले जनाएको छ ।

प्रोटोनले बेस भेरियन्ट प्राइममा १८ इन्चको ह्वील प्रयोग गरेको छ । जबकी माथिल्लो दुई भेरियन्टमा १९ इन्चको ह्वील पाउन सकिन्छ । मोटर भने १६० किलोवाटकै छ । यसको पीकटर्क ३२० न्यूटन मिटर छ ।
१०० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने प्रोटोन इमास सेभेनले एसी चार्जर पनि ११ किलोवाटसम्मको सपोर्ट गर्छ ।


