उपत्यकामा चल्ने ३३०३ सार्वजनिक गाडीमा जोडियो सीसी क्यामेरा र जीपीएस

काठमाडौं । काठमाडौं उपत्यकामा संचालन हुने ३ हजार बढी सार्वजनिक सवारी साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा चल्ने ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जीपीएस जडान गरिएको हो ।

सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले धमाधम प्रविधि जडान गरिएको हो ।

सरकारले उपत्यकामा संचालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन र निगरानी प्रभावकारी बनाउन ड्यासक्यामेरा, सीसीक्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू गरेको छ । सोही अनुसार व्यवसायीहरूले पछिल्लो समय ड्यासक्यामेरा, सीसीक्यामेरा र जीपीएस जडानलाई तीव्रता दिएका हुन् ।

पछिल्लो समय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सीसीक्यामेरा र जीपीएस जडान भए÷नभएको अनुगमन तीव्र पारेपछि व्यवसायीहरूल प्राथमिकताका साथ जडान गर्न लागेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुव्र्यवहार, बढी भाडा असुली, सवारी संचालनको अवस्थालगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जीपीएस प्रणाली प्रभावकारी हुने बताए ।

उनका अनुसार जीपीएस प्रणाली जडान भएपछि सवारीधनीले पनि आफ्नो गाडी कुन स्थानमा छ, कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन् । यसले सवारीसाधनको नियमित अनुगमन, चालकको जिम्मेवारी र यात्रुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

त्यस्तै, सार्वजनिक यातायातमा ड्यासक्यामेरा र सीसीक्यामेरा जडान भएपछि सवारीभित्र हुने गतिविधिको अभिलेख राख्न सकिने भएकाले विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Back_to_top