काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चेकजाँच तीव्र बनाएको छ ।
पछिल्लो २४ घण्टा (आज बिहान ६ बजेसम्म) मात्रै काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा नियम उल्लंघन गर्ने २ हजार ५५० चालकलाई कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १०२ जना मापसे, राइड सेयरिङ १४२, रेड लाइट १४०, तीव्र गति २०७, लेन ५६, प्रदूषण १४, नो हर्न १०८, यान्त्रिक कारबाही ३५ र अन्य नियम मिच्ने १७४६ जना कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेकाहरूलाई कुल १७ लाख २४ हजार ५०३ रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पद्धार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।


