ओभर स्पीड र मापसे गरेर सवारी चलाए ५० हजार जरिवाना, अब ३९ कसुरमा सजाय

काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराउने प्रस्ताव गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढेसँगै त्यसलाई निरुत्साहित गर्न सरकारले जरिवाना रकममा भारी वृद्धि गर्ने तयारी गरेको हो ।

पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था विधेयक’को मस्यौदामा ट्राफिक जरिवाना बढाउने प्रस्ताव गरिएको हो ।

प्रस्तावित मस्यौदामा कसुर अनुसार ट्राफिक प्रहरीले तत्कालै ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको हो । साथै, कारबाहीको दायरा समेत विस्तार गरिएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा २० वटा कसुर गरेको पाइएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न पाउने व्यवस्था रहेकोमा नयाँ विधेकमा ३९ कसुर गरेमा तत्कालै सजाय गर्न सक्ने प्रस्ताव गरिएको हो ।

प्रस्ताविक विधेयकको दफा ६२ मा तत्काल जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । जसमा सवारी साधनमा अपारदर्शी सिसा राखेर वा सिसामा अन्य कुनै वस्तु राखेर बाहिरबाट भित्र नदेखिने गरी बनाई सवारी साधन चलाएमा १ लाख रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, सवारी चालकले मादक पद्धर्थ वा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाएमा दुईपाँग्रे र तीनपाँग्रे चालकले २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । साना त्यस्तै, साना चारपाँग्रेले ३५ हजार, मझौला र ठूला चारपाँग्रे चालकले ५० हजार जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ । यदि, दोस्रोपटक मापसे गरेर सवारी चलाएमा थप ५० प्रतिशत र सोभन्दा बढी पटक गरेमा थप १०० प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।हाल मापसे गरेर सवारी चलाउँदा ५०० रुपैयाँदेखि १५०० रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।

 

मापसेको मात्र समेत तोकिएको छ । ३० वर्ष माथि उमेरका चालकको रगतमा ०.०५ ग्राम प्रति डेसिलिटरभन्दा बढी मादक पद्धार्थ भएमा मापसे गरेका ठहरिने छ । त्यस्तै, ३० वर्षभन्दा कम उमेरका र परीक्षणकालमा रहेका चालकको हकमा ०.०२ ग्राम प्रति डेसिलिटर बढी तोकिएको छ ।

त्यस्तै, तोकिएको सीमाभन्दा बढी गति (ओभर स्पीड)मा सवारी चलाएमा पनि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । दुईपाँग्रे र तीनपाँग्रे सवारीको हकमा २५ हजार, साना चारपाँग्रे सवारीलाई ३५ हजार र मझौला तथा ठूला सवारीलाई ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । तर, निर्धारण गरिएको गति सीमाभन्दा ५ प्रतिशतसम्म बढी भएकोमा जरिवाना लाग्ने छैन ।

सवारीको गति निर्धारण गरिएको सीमाभन्दा २० प्रतिशतसम्म बढी भएमा २० प्रतिशत, २० देखि ४० प्रतिशतसम्म ४० प्रतिशत, ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म भएमा ६० प्रतिशत र ६० प्रतिशतभन्दा बढी स्पीड भएमा शतप्रतिशत जरिवाना लाग्नेछ ।

तोकिएको गति भन्दा ढिला सवारी चलाए पनि जरिवाना लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ । सडक क्षेत्रमा निर्धारण गरिएको सुरक्षित गति सीमाभन्दा कम गतिमा सवारी चलाएमा ३ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

अनुमति नलिई विदेशी सवारीसाधन नेपालमा चलाएमा २५ हजार रुपैयाँ, लामो दुरीका सार्वजनिक यातायातले बढी यात्रु बोकेमा २० हजार, मध्यम दूरीका १० हजार र छोटो दूरीको बाटोमा ५ हजार जरिवाना प्रस्ताव गरिएको छ ।

दर्ता गरिएको प्रयोजनभन्दा अन्य प्रयोग गरेमा ठूला सवारीलाई १५ हजार, साना तथा मझौलालाई १० हजार र दुईपाँग्रेलाई ५ हजार जरिवाना लाग्नेछ।

त्यस्तै, लाइसेन्स नभएका व्यक्तिले सवारी चलाएमा वा एक वर्गको लाइसेन्स प्राप्त गरी अर्को वर्गको सवारी चलाएमा दुईपाँग्रेलाई ५ हजार, साना सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

त्यसैगरी, सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नराखी चलाएमा दुईपाँग्रेले ५ हजार, साना चारपाँग्रेले १० हजार र ठूला सवारीले १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

रुट परमिट लिनुपर्नेमा नलिई सवारी चलाएमा, लेन अनुशासन पालना नगरी सवारीसाधन चलाएमा, संकेत नदिई लेन परिवर्तन गरेमा, फुटपाथमा सवारीसाधन चलाएमा, वान वे सडक चलाएमा, मोबाइल फोन प्रयोग गरी सवारी चलाएमा १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

सार्वजनिक यातायातले भाडादरको सूची नराखे, बढी भाडा लिए तीनपाँग्रे सवारीले २ हजार, चारपाँग्रेले ५ हजार र मझौला तथा ठूला सवारीले १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ। मालबाहक सवारीले वजनको हदभन्दा बढी वजन बोकेमा १५ हजार, बीमा नगराई सवारी चलाएमा सार्वजनिक सवारीले १० हजार र निजीले ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

अवस्था ठिक नभएको सवारी चलाएमा ५ हजार, दुईपाँग्रे सवारीसाधन चलाउँदा हेलमेट नलगाए ३ हजार, ओभरटेक गर्न नहुने वा असुरक्षित स्थानमा ओभरटेक गरेमा, रातको समयमा बत्ती नबाली सवारी चलाएमा २ हजार, ट्राफिक संकेत पालना नगरेमा ३ हजारदेखि ५ हजार, कागजात साथमा नराखी सवारी चलाएमा १ हजार, निषेधित क्षेत्र वा निषेधित समयमा सवारीसाधन चलाएमा १ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, बिगारेमा, मेटेमा, च्यातेमा ५ हजार, हेलचक्र्याइँ, लापरवाही वा जोखिमयुक्त तरिकाले सवारी चलाएमा ३ हजारदेखि ५ हजार, मिटर ट्याक्सीले मिटरमा जान नमानेमा ३ हजार, सवारी चालक र परिचालकले तोकिएको पोशाक र परिचयपत्र नलगाएमा ५०० रुपैयाँ जरिवाना लाग्नेछ ।

रोक्नुपर्ने अवस्थामा सवारी नरोकेमा, दुईपाँग्रे सवारी साधनले अफलाइन सेवा प्रदान गरेमा, सार्वजनिक सवारीसाधनले तोकिएको सिट क्षमतासम्मको यात्रु लिन इन्कार गरेमा २ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

सार्वजनिक सडकमा मालसामान, निर्माण सामग्री वा सवारीसाधन राखी वा पशु चौपाया छोडी मानिस वा सवारीसाधनको आवागमनमा बाधा र्पुयाएमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । साथै, पैदल यात्रुले तोकिएको फूटपाथ बाहेक अन्य स्थानबाट सडकमा यात्रा गरेमा ५०० रुपैयाँ, गाडीबाट सडकमा फोहोर फालेमा १ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

सरकारले तोकेको जरिवाना नागरिक एप वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित विधेयकको मस्यौदा पूर्वाधार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ । कानुनको सहमति प्राप्त भएपछि मन्त्रिपरिषद् पठाइने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदमा पुग्नेछ ।

कुनै विधेयक संघीय सदनका दुवै संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भई राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि मात्रै कानुनको रूप लिन्छ । राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने छ ।


Back_to_top