उत्पादन चरणमा प्रवेश गर्दै महिन्द्रा ‘भिजन एसएक्सटी’

काठमाठौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले गत वर्ष सार्वजनिक गरेको ‘भिजन एसएक्सटी’ चाँडै उत्पादन चरणमा प्रवेश गर्ने देखिएको छ ।

कम्पनीले भारतमा ‘भिजन एसएक्सटी’को पेटेन्ट आधिकारिक रूपमा दर्ता गरेसँगै चाँडै उत्पादन थाल्ने सम्भावना बढेको हो ।

पेटेन्ट दर्तासँगै कम्पनीले यसअघि सार्वजनिक गरेको कन्सेप्ट डिजाइनकै आधारमा नयाँ गाडी उत्पादन गर्ने लगभग निश्चित भएको छ । महिन्द्राले आधिकारिक रूपमा नबताए पनि यसको व्यावसायिक उत्पादन सन् २०२७ देखि सुरू हुनेछ ।

महिन्द्राले गत १५ अगस्ट २०२५ मा आफ्नो बहुप्रतीक्षित ‘एनयू आइक्यू’ प्लेटफर्म सार्वजनिक गर्दै भिजन एसएक्सटीको पहिलो झलक देखाएको थियो ।

यो प्लेटफर्ममा पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक गरी चारवटै विकल्पमा उपलब्ध हुनेछ । साथै, ग्राहकले आफ्नो आवश्यकता अनुसार टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभको विकल्प छान्न सक्नेछन् । अन्तर्राष्ट्रिय बजारलाई समेत ध्यानमा राखेर यसलाई लेफ्ट ह्याण्ड र राइट ह्यान्ड दुवै ड्राइभिङ सेटअपमा निर्माण गर्न सकिने कम्पनीले जनाएको छ ।

भिजन एसएक्सटीको अगाडिको डिजाइनमा दाँत जस्तो ग्रिल, स्प्लिट हेडलाइट सेटअप, वाइ आकारको डीआरएल, अगाडिको स्किड प्लेट, वाइड ह्वील आर्च छ । बाहिरी सुरक्षाका लागि ‘रोल केज’सहितको ट्युबुलर बार दिइएको छ ।

यसमा साइड स्टेप र कस्टम्ड अफ रोड टायरको समावेशले यो एसयूभी उच्च ग्राउण्ड क्लियरेन्स भएको हुनसक्ने संकेत गर्दछ । यसलाई मुख्य गरी ‘रोड बायस्ड’ एसयूभीको रूपमा डिजाइन गरिएको छ । आकर्षक लुक्सका कारण अटोमोबाइल प्रेमीहरूले यसलाई ‘ल्यान्ड रोभर डिफेन्डर’सँग तुलना गरिरहेका छन् ।

महिन्द्रा भिजन एसएक्सटीमा २,६६५ एमएमको लामो ह्वीलबेस रहनेछ । जसले गर्दा गाडीको भित्री भागको भुइँ पूर्ण रूपमा समतल हुनेछ । पछाडिको सिटमा बस्ने यात्रुले उत्कृष्ट लेगरुम पाउनेछन् ।

महिन्द्राको दाबी अनुसार एसएक्सटीले आफ्नो श्रेणीमै उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र यस सेगमेन्टमै पहिलो पेन्टा लिंक रियर सस्पेन्सन पाउने छ । महिन्द्राले भिजन एसएक्सटीले ग्लोबल एनक्याप र युरो एनक्याप दुवैमा फाइभ स्टार सेफ्टी रेटिङ हासिल गर्ने लक्ष्य पनि राखेको छ ।


Back_to_top