काठमाडौं । अहिले बजारमा उपलब्ध चिनियाँ ईभी र अन्य देशका ईभीका बीचमा धेरै तुलना हुने गरेको पाइँदैन । तर, चिनियाँ ब्राण्ड लीपमोटर र इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीका दुई उत्पादन बीच यहाँ तुलना गर्न लागिएको हो ।
झट्ट सुन्दा धेरैलाई यी दुई मोडल बीच पनि तुलना हुन्छ र भन्ने लाग्न सक्छ । अझ धेरैले ठूलो एसयूभीसँग सानो क्रसओभर मोडलको तुलना गर्न लाग्यो भन्ने पनि सोच्दै हुनुहुन्छ होला ।
यदि, तपाईं ईभीको बारेमा चासो राख्नुहुन्छ वा इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीलाई पच्छाउनु हुन्छ भने पक्कै ई भिटाराको बारेमा जानकारी राख्नु भएको होला । होइन चिनियाँ ईभीमा तपाईंको चासो छ भने लीपमोटरको विषयमा जानकार नै हुनुहुन्छ ।
यहाँ सुजुकी ई भिटारा एसयूभी र लीपमोटर बी-१० का बारेमा चर्चा गर्न खोजिएको हो ।
डिजाइनमा कति फरक ?
सुजुकी ई भिटारा परम्परागत एसयूभीको डिजाइनमा पाउन सकिन्छ । अगाडि ठूलो बम्पर, बाक्ला फेन्डर, चौडा स्टान्सको कारण अफरोड भेहिकलको झल्को प्रदान गर्न सक्षम छ ।

लीपमोटर बी-१० आधुनिक ईभी डिजाइनबाट प्रेरित मोडल हो । फ्लस टाइप डोर ह्याण्डल, स्लिम एलईडी लाइट बार, सफा बडी लाइन र स्कीन डिजाइनसँगै फ्युचरिस्टिक पनि लाग्छ ।
डिजाइनकै कुराले कुन ठिक भन्न कठिन नै लाग्छ । डिजाइन भनेको व्यक्ति अनुसार फरक मन पर्ने हुनसक्छ ।
साइजमा फरक
यी दुई उत्पादनलाई साइजकै आधारमा मात्रै हेर्ने हो भने हरेक कुरामा लीपमोटर बी-१० अगाडि देखिन्छ । दुवै गाडीमा समान १९ इन्चसम्मको ह्वील पाउन सकिन्छ । सस्पेन्स पनि दुवैले अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिङक इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरेका छन् ।

ब्याट्री र पावर
ब्याट्री र पावरमा पनि यी दुई उत्पादन बीच ठूलो तुलना हुँदैन । ई भिटारामा ६१ किलोवाट आवरको ब्याट्री छ । जबकि बी-१० मा ६७ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
मोटर पावरमा पनि लीपमोटर बी-१० अगाडि देखिन्छ । बी-१० मा १६० किलोवाटको मोटर छ भने सुजुकीले १२८ किलोवाटको मोटर दिएको छ । टर्कमा पनि बी-१० नै अगाडि छ । बी-१० मा २४० न्यूटन मिटर टर्क पाउँदा ई भिटारामा १९० न्यूटन मिटर टर्क प्रदान गर्छ । ई भिटारा फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आउछ भने बी-१० रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुन्छ ।
टेक फिचर र इन्टेरियर
आजकलका ईभीमा टेक फिचर र क्याबिनको इन्टेरियर खुबै म्याच गरेर ल्याइएको हुन्छ । बी–१० एसयूभीमा कस्टुमाइज गर्न मिल्ने ड्यासबोर्ड पाउन सकिन्छ । ठूलो १४.६ इन्चको स्क्रीन, स्न्याप ड्रायागनको प्रोसेसर, एआई भ्वाइस कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।

सुजुकी ई भिटाराका पनि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ठूलो टच स्क्रीन, ३६० डिग्री क्यामेरा, एडास जस्ता आधुनिक फिचरको लामो लिस्ट पाउन सकिन्छ ।
सुरक्षामा कुन अगाडि ?
सर्सती हेर्दा सुरक्षामा दुवै गाडीले ठूलो रकम लगानी गर्दैछन् । ६ वटा एयरब्याग, एबीएस, लेन किप असिस्ट, अडाप्तीभ क्रुज कन्ट्रोल, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचर दुवै एसयूभीमा छन् ।
मूल्यमा फरक
मूल्यको आधारमा ई भिटारमा धेरै अप्सन पाइन्छ । सीजी मोटोकर्पले विभिन्न भेरियन्ट अनुसार ४९ लाखदेखि ६० लाखसम्म रुपैयाँ तोकेर ई भिटारा बिक्री हुँदै आएको छ । लीपमोटरले बजेट लगत्तै ५५ लाख रुपैयाँ मूल्य तोकेर बिक्री थालेको हो । बजेट अगाडि बी-१० एसयूभीको मूल्य ६० लाख रुपैयाँ थियो ।
त्यसो भए, अब कुन किन्दा बढी फाइदा पुग्छ भन्ने प्रश्न आउँछ । यदि तपाईंको प्राथमिकता फिचर, प्रविधि, ठूलो साइज र बढी पावर दिने गाडी खोज्नेलाई बी-१० उत्कृष्ट हुनसक्छ ।
होइन विगतमा काम गरेको अनुभवको आधारमा पनि निर्णय लिने हो भने ई भिटारा उत्कृष्ट च्वाइस हुन सक्छ । कम्पनीको सर्भिस, स्पेयर पार्ट्स उपलब्धता देखि ब्राण्ड स्वीकार्यता बढी भएको पाइन्छ ।


