काठमाडौं । जारी विश्वकपमा सबैभन्दा बढी चर्चा कमाइरहेका खेलाडी हुन् एर्लिङ हालान्ड । नर्वेका स्टार स्ट्राइकर हालान्ड फुटबल मैदानमा जति चर्चामा छन्, त्यतिनै चर्चा उनको खानपान र लक्जरी कारको हुने गर्छ ।
मैदान बाहिर धेरैजसो सुपरकारको प्रयोगमा यात्रा गर्न रुचाउने हालान्ड गाडी चलाउन पनि उत्तिकै माहिर छन् । उनले भन्छन्, ‘सानो मनपर्ने म्युजिक र सुपरकार मेरो शौख हो ।’
२४ वर्षीय हालान्ड विश्व फुटबलका सबैभन्दा धेरै कमाउने खेलाडीमध्ये एक हुन् । अग्लो र बलिष्ठ शरिरका धनी हालान्डसँग करोडौं रुपैयाँ मूल्य पर्ने दुर्लभ र उच्च प्रदर्शन क्षमताका कार छन् ।
हालान्डले हालै विश्वकै दुर्लभ हाइपरकारमध्ये एक बुगाटी टुरबिलन खरिद गरेका छन् । विश्वभर केबल २५० युनिट मात्रै उत्पादन उक्त हाइपरकारका लागि उनले करिब ५० लाख अमेरिकी डलर खर्च गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
यस बाहेक हालान्डको ग्यारेजमा मर्सिडिज एएमजी वान, फेरारी मोन्जा एसपी-२, पोर्श-९११ जीटी-३, अउडी आरएस-६ एभेन्ट, रोल्स रोयस कलिनन, रेन्ज रोभर स्पोर्ट तथा अउडी आरएस क्यू-८ जस्ता प्रिमियम कारहरु छन् ।
उनले चढ्ने मर्सिडिज एएमजी वानको मूल्य ३० लाख अमेरिकी डलर हाराहारी पर्छ । फेरारी मोन्जा एसपी-२ को मूल्य करिब २० लाख अमेरिकी डलर रहेको अनुमान छ । पोर्श-९११ जीटी-३, अउडी आरएस-६ एभेन्ट र रोल्स रोयस कलिनन पनि करोडौं रुपैयाँ पर्ने लक्जरी कार मोडल हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय अटो मिडियाका अनुसार हालान्डको कार संग्रहको कुल मूल्य १ करोड २० लाख अमेरिकी डलरभन्दा बढी रहेको छ ।
उनको क्यारियर रेड बुल साल्जबर्ग हुँदै बोरुसिया डर्टमन्डबाट विश्व फुटबलमा उदाएको हो । अहिले म्यान्चेस्टर सिटीका मुख्य स्ट्राइकर रहेका हालान्ड प्रिमियर लिग, एफए कप, युइफए च्याम्पियन्स लिग सहित धेरै प्रमुख उपाधि जितिसकेका खेलाडी हुन् ।
क्लब र राष्ट्रिय टोलीका लागि उनले सयौं गोल गरिसकेका छन् । असाधारण गति, शारीरिक क्षमता र फिनिसिङका कारण उनलाई आधुनिक फुटबलको घातक स्ट्राइकर मानिन्छ ।
जारी २०२६ फिफा विश्वकपमा पनि हालान्ड उत्कृष्ट लयमा छन् । ब्राजिल विरुद्ध अन्तिम १६ को खेलमा दुई गोल गर्दै उनले नर्वेलाई इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पु¥याउन सफल भएका छन् ।
विश्वकपमा उनी गोल्डेन बुटको दौडमा पनि अग्रपङ्क्तिमा छन् । विश्व फुटबलमा आफ्नो गोल गर्ने क्षमताले नयाँ कीर्तिमान बनाइरहेका हालान्डले मैदानबाहिर पनि सुपरकार संग्रहमार्फत उत्तिकै चर्चा बटुलिरहेका छन् ।


