भाडा बढाउन नपाएको झोकमा विभागले फिर्ता लियो दुई निर्णय

काठमाडौं । यातायात व्यवस्था विभागले असार १ देखि लागु हुने गरि सार्वजनिक सवारीको भाडा बढाउने निर्णय बिहिबार गर्यो । विभागले गरेको निर्णय सदरका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइयो । 

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले उक्त निर्णय सदर नगरि विभागमै फिर्ता पठाए । विभागले सार्वजनिक सवारीको भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । विभागको निर्णयबाट आफूहरुसँग छलफल नगरेको भन्दै यातायात व्यवसायीहरुसमेत असन्तुष्ट थिए । 

भाडा वृद्धिको निर्णय मन्त्रीले सदर नगरेपछि यातायात व्यवस्था विभागको नेतृत्व यसरी रन्थनियो कि यसअघि गरेका दुई निर्णय समेत फिर्ता गरिदियो । विभागले असार १ देखि काठमाडौंमा ‘रात्री बस सेवा’ सुरु र दिनको समयमा मालबाहक सावरी सञ्चालनमा रोक लगाउने निर्णय समेत तत्कालका लागि रोक्ने सूचना जारी गर्यो । 

विभागले बिहिबार नै रात्रीबस सेवाका लागि बस कम्पनी र तीनले बस चलाउने रुट तथा समय तालिका सार्वजनिक गरेको थियो । यसले राती यात्रा गर्नुपर्ने यात्रुलाई सहज हुने र ट्याक्सीको मनलाग्दी रोकिने विभागको भनाई थियो । 

त्यस्तै दिउसो मालबाहक सवारी गुड्दा दुर्घटनाको जोखिम बढेकाले असार १ देखि नै विभागले उपत्यकामा अत्यावश्यक बाहेकका मालबाहक सवारी चलाउन नदिने निर्णय गरेको थियो । 

यातायात व्यवस्था विभागको नेतृत्व सम्हाल्न आइपुगेका कुमारप्रसाद दाहाल सुधारको काम गर्ने भन्दै लागि रहेका थिए । तर भाडा वृद्धिको निर्णय फिर्ता भएपछि त्यसअघि गरिएका निर्णय किन फिर्ता भयो भन्ने प्रश्न सबै तिर उठेको छ । 


Back_to_top