काठामाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले अत्याधुनिक प्रविधिसहित सस्तो मूल्यको नयाँ इलेक्ट्रीक ह्याचब्याक बजारमा ल्याएको छ । कम्पनीले आफ्नो लोकप्रिय ‘ए सिरिज’ अन्तर्गत नयाँ कम्प्याक्ट इलेक्ट्रीक कार ए ०५ एसको पहिलो झलक सार्वजनिक गरेको हो ।
कम्पनीले गत मार्चमा चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा ए०५ कम्प्याक्ट ईभी दर्ता गराएको थियो। ए०५ एस पनि सोही ए०५ गाडीकै फ्यामिलीकै सदस्यको रूपमा ल्याएको हो ।
कम्पनीले सस्तो मूल्यको कारमै लाइडार सेन्सर राखेर ल्याएपछि यसले ईभीले ईभी बजारमा ठूलो हलचल ल्याउने अनुमान गरिएको छ । युरोपेली अटो जायन्ट ‘स्टेलान्टिस’को लगानी रहेको लीपमोटरले सस्तो गाडीमा महँगा कारहरूमा मात्र पाइने अत्याधुनिक ‘लाइडार’ सेन्सर उपलब्ध गराएर सबैलाई अचम्ममा पारेको छ ।
कम्पनीले ‘ए ०५ एस’लाई एक ‘स्मार्ट र फुर्तिलो प्रिमियम सेडान’को रूपमा बजारमा उतार्ने घोषणा गरेको छ । यद्यपि, बाहिरी बनोट र आधिकारिक तस्बिरहरूका अनुसार यो एक कम्प्याक्ट ह्याचब्याक कार हो । जसलाई चिनियाँ बजारमा सेडानकै रूपमा वर्गीकरण गरिन्छ।
यो कम्पनीको ए १० एसयूभीपछि ए सिरिजको दोस्रो मोडल समेत हो कम्पनीले यसमा आफ्नो पारिवारिक डिजाइन शैलीलाई निरन्तरता दिएको छ। । ए ०५ एसमा ‘पिंक एन्ड इंक’ कलरको डबल टोन बडी छ । यसमा हिडन डोर ह्याण्डल, पछाडि स्माइली फेस आकारको आकर्षक टेललाइट राखिएको छ । 
यसको छतमा अत्याधुनिक लाइडार सेन्सर प्रष्ट देख्न सकिन्छ । जसले गाडीको ‘ड्राइभर असिस्टेन्स’ प्रणालीलाई निकै सुरक्षित र भरपर्दो बनाउँछ। प्राविधिक विवरण अनुसार ए ०५ एसको लम्बाइ ४,२०० एमएम र चौडाइ १,८०० एमएम चौडा छ।
कम्पनीले ए ०५ एस दुई ब्याट्री र दुई मोटर अप्सनमा ल्याउने छ । यसमा ७० किलोवाट र ९० किलोवाटको मोटर पाउन सकिन्छ । सानो मोटरमा ३९.८ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, ठूलो ९० किलोवाटको मोटर भएको गाडीमा ५३ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुल चार्जमा ५१० किलोमिटरसम्म रेन्ज दिन्छ ।
कम्पनीले आफ्नो बजेट कारमा लाइडार प्रविधि भित्राएर बीवाइडीलाई सिधै चुनौती दिएको छ । बीवाइडीले पनि आफ्नो सबैभन्दा सस्तो मोडल सीगल (एटो वान) मा लाइडार थपिसकेको छ ।
कम्पनीले यसको मूल्य बारे केही जानकारी दिएको छैन । तर, प्रतिस्पर्धी मोडलहरूकाे मूल्यका आधारमा करिब साढे ९ हजार देखि १२ हजार अमेरिकी डलर हाराहारीमा बजारमा आउन सक्ने सम्भावना छ ।
लीपमोटरमा उत्पादन नेपालमा पनि बिक्री हुँदै आइरहेका छन् । सांग्रिला मोटर्सले हाल बी १०, सी १० र टी ०३ बेच्द आएको छ भने चाँडै बी ०३ एसयूभी ल्याउँदै छ । सस्तो मूल्य र आधुनिक फिचर भएकाले ए ०५ एस पनि नेपाल आउन सक्ने सम्भावित मोडलको रूपमा हेरिएको छ ।
लीपमोटर पछिल्लो सयम बजार विस्तारमा आक्रमक बन्दै एकपछि अर्को नयँँ मोडल ल्याइरहेको छ । कम्पनीले सन् २०२६ लागेपछि ए १० एसयूभी र डी ९९ एमपीभी नयाँ मोडल बजारमा ल्याएको छ । त्यस्तै, सी सिरिज अपडेट गरेर ल्याइसकेको छ भने बी सिरिजको अपडेटेड भर्सन अर्को साता लन्च गर्दैछ । लीपमोटरले सन् २०२६ सम्ममा वार्षिक १० लाख गाडी डेलिभरी गर्ने आक्रामक लक्ष्य राखेको छ ।


