सवारीको प्रदूषण परीक्षणमा नयाँ मापदण्ड लागू गरिँदै, ४ वर्गमा विभाजन

काठमाडौं । सरकारले हाल संचालनमा रहेका सवारी साधनको प्रदूषण परीक्षणमा नयाँ मापदण्ड लागू गर्ने भएको छ । देशभर संचालनमा रहेका पुराना सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदूषण बढेसँगै सरकारले त्यसमा कडाइ गर्न नयाँ मापदण्ड लागू गर्ने भएको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ तयार पारेको हो ।

मन्त्रालयले मापदण्डको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूसँग सुझाव समेत मागेको छ । प्राप्त उपयुक्त सुझावलाई समेट्दै मस्यौदालाई अन्तिम रूप दिइने र स्वीकृत गरी चाँडै कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ । यो मापदण्ड राजपत्रमा प्रकाशित भएको ९१औं दिनबाट लागू हुनेछ ।

प्रस्तावित मापदण्ड अनुसार अब सवारी साधन दर्ता भएका वर्षका आधार र चल्ने इन्धनका आधारमा फरक फरक मापदण्ड तोकिएको छ ।

सवारी साधनलाई दर्ता वर्षमा आधारमा ४ वर्गमा विभाजन गरिएको छ । जसमा २०५६ अगाडि दर्ता भएका सवारी, २०५६ देखि २०६९ सम्म दर्ता भएका, २०६९ देखि २०८२ सम्म दर्ता भएका सवारीसाधन र २०८२ भन्दा पछाडि दर्ता भएका सवारी साधन रहेका छन् । यी चारै वर्गमा सवारीले कायम गर्नुपर्ने मापदण्ड फरक फरक छ । हाल भने सबै खाले सवारीलाई एउटै मापदण्ड लागू गरिएको छ ।

प्रस्तावित मापदण्ड अनुसार पेट्रोल, डिजेल र सीएनजीबाट संचालन हुने सवारीको परीक्षण विधि फरक फरक रहेको छ । परीक्षण सवारीकाे निष्काम गति (इन्जिन चालु अवस्थामा राखी गरिने) र उच्च निष्काम गति (इन्जिन चालु अवस्थामा राखी आरपीएम निष्काम गतिभन्दा दोब्बर बढी बनाइ गरिने) दुवै अवस्थामा हुनेछ ।

पेट्रोलबाट चल्ने सवारी साधनमा कार्बनमोनोअक्साइड, हाइड्रोकार्बन र ल्याम्ब्डा परीक्षण गरिनेछ । डिजेल सवारीसाधनको हकमा स्मोक ओपासिटी (धुँवाको घनत्व) मापन गरिने छ । जसमा प्रकाश अवशोषण र हार्टरिज स्मोक युनिट परीक्षण गरिनेछ ।

सीएनजी/एलपीजीबाट संचालन हुने सवारी साधनमा परम्परागत हाइड्रोकार्बनको सट्टा नन मिथेन हाइड्रोकार्बन र रिएक्टिभ हाइड्रोकार्बनको आधारमा प्रदूषण मापन गरिने व्यवस्था प्रस्ताव गरिएको छ ।

कुन सवारीमा के कति हुनुपर्छ ?

प्रस्तावित मापदण्ड अनुसार २०५६ पुस ८ गते अघि दर्ता भएका पेट्रोलबाट चल्ने दुईपाँग्रे/तीनपाँग्रे सवारीमा कार्बनमोनो अक्साइडको मात्र ४.५ प्रतिशत र हाइड्रोकार्बन ७८०० पीपीएम हुनुपर्नेछ । चारपाँग्रेको हकमा कार्बनमोनो अक्साइडको मात्र ३.५ प्रतिशत र हाइड्रोकार्बन १०० पीपीएम हुनुपर्नेछ ।

त्यस्तै, २०५६ अघि दर्ता भएका डिजेल सवारीमा स्मोक अपासिटी प्रकाश अवशोषण गुणांक प्रतिमिटर ३.२३ हार्टरिज स्मोक युनिट ७५ प्रतिशत हुनुपर्नेछ ।

त्यस्तै, २०५६ देखि २०६९ (असोज २९)मा दर्ता भएका पेट्रोलबाट चल्ने दुईपाँग्रे/तीनपाँग्रे सवारीमा कार्बनमोनो अक्साइडको मात्र ३.५ प्रतिशत र हाइड्रोकार्बन ७८०० (प्रति १० लाख) हुनुपर्नेछ । चारपाँग्रेको हकमा कार्बनमोनो अक्साइडको मात्र ३.५ प्रतिशत र हाइड्रोकार्बन १००० (प्रति १० लाख) हुनुपर्नेछ । डिजेल सवारीको हकमा २०५६ अघि दर्ता भएका डिजेल सवारीमा स्मोक अपासिटी प्रकाश अवशोषण गुणांक प्रतिमिटर २.४५ हार्टरिज स्मोक युनिट ६५ प्रतिशत हुनुपर्नेछ ।

२०६९ देखि २०८२ असार ९ गतेसम्म दर्ता भएका पेट्रोलबाट चल्ने दुईपाँग्रे सवारीमा कार्बनमोनो अक्साइडको मात्र ३.० प्रतिशत, तीनपाँग्रेमा ३.५ र चारपाँग्रेमा ०.५ प्रतिशत हुनुपर्नेछ । हाइड्रोकार्बन क्रमशः ३०००, ४५०० र ७५० (प्रति १० लाख) हुनुपर्नेछ । डिजेल सवारीमा स्मोक अपासिटी प्रकाश अवशोषण गुणांक प्रतिमिटर २.४५ र हार्टरिज स्मोक युनिट ६५ प्रतिशत हुनुपर्नेछ ।

२०८२ असार ९ गतेपछि दर्ता भएका सवारीको हकमा पेट्रोलबाट चल्ने दुईपाँग्रे/तीनपाँग्रे सवारीमा कार्बनमोनो अक्साइडको मात्र ०.५ प्रतिशत र चारपाँग्रेमा ०.३ प्रतिशत हुनुपर्नेछ । हाइड्रोकार्बन क्रमशः ५०० र २०० (प्रति १० लाख) हुनुपर्नेछ ।साथै, इन्धन इन्जेक्सन तथा क्याटालिटिक कनभर्टर भएका आधुनिक पेट्रोल गाडीमा हावा र इन्धनको अनुपात ‘लाम्डा’ पनि परीक्षण गरिने प्रस्ताव गरिएको छ । डिजेल सवारीमा स्मोक अपासिटी प्रकाश अवशोषण गुणांक प्रतिमिटर १.६२ र हार्टरिज स्मोक युनिट ५० प्रतिशत हुनुपर्नेछ ।

प्रस्तावित मापदण्डमा ट्रयाक्टर, पावर टिलर तथा डोजर, क्रेन, रोलर, एस्काभेटर जस्ता निर्माण उपकरण तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीबाहेक प्रयोगमा रहेका सवारीसाधनको हकमा लागू हुनेछ । डिजेल बाहेकका सवारीको हकमा नेपालभर र डिजेलबाट चल्ने सवारीको हकमा काठमाडौं उपत्यका, महानगरपालिका र उपमहानगरपालिका भित्र लागू हुनेछ ।


Back_to_top