काठमाडौं । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय एसयूभीको चर्चा बढी भए पनि पेट्रोल र हाइब्रिड प्रविधिमा आधारित प्रिमियम एसयूभी चाहनेहरू पनि छन् । त्यसमा पनि फोर ह्वील ड्राइभमा लाइफ स्टाइल एसयूभीको छुट्टै क्रेज हुने नै भयो ।
युवा उपभोक्ताको ध्यान खिच्नेखालको बीजे-३०ई एसयूभीलाई लक्ष्मी मोटरहबले नेपाली बजारमा बिक्री सुरू गरिसकेको छ । साउन २६ गते नाइमा मोबिलिटी एक्स्पो मार्फत नेपाल प्रवेश गरेको बीएआइसी ब्राण्डको बीजे-३० ईले केही दिनमै आफ्नो फरक पहिचान बनायो भन्दा फरक पर्दैन ।
बक्सी डिजाइन, फोर ह्वील ड्राइभ सिस्टम, हाइब्रिड टेक्नोलोजी र अफरोड क्षमताको संयोजन भएको बीजे-३० ई मूल्यको हिसाबले पनि राम्रो मानियो । कम्पनीले १ करोड २० लाख रुपैयाँ हाराहारी मूल्य तोकेर बिक्री सुरू गरेको हो ।
यो मूल्यमा डिजाइन, फिचर, अफरोड क्षमता र हाइब्रिड पावरट्रेनलाई एकैसाथ तुलना गर्दा प्रतिस्पर्धी बिहीन देखिन्छ बीजे-३०ई । त्यसैले मोर्डन टेक फिचर, लक्जरी र आवश्यकता पूरा गर्ने हिसावले यो केही हदसम्म ‘निर्विकल्प’ एसयूभी देखिन्छ ।
नाइमा मोबिलिटी एक्स्पोमा राम्रो बुकिङ
एक करोड माथिको मूल्यका बाबजुद नाइमा मोबिलिटी एक्स्पोमा बीजे-३०ईले राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अटो एक्स्पोमा भएको बुकिङ संख्या एकिन जानकारी दिइएको छैन । तर, आगामी दुई/तीन महिना हुने आयातले बुकिङ बिक्रीमा कति बदलियो भन्ने देखिन्छ । यसले बीजे-३०को आगामी बाटो प्रष्ट हुन्छ ।

विशेषगरी नेपाली ग्राहकले फोर ह्वील ड्राइभ र हाइब्रिड प्रविधिलाई कसरी बुझ्छन् भन्ने कुरा पनि यसको सफलताको लागि महत्वपूर्ण हुनेछ ।
इन्जिन र पर्फमेन्स
बीजे-३० ईमा १.५ लिटर टर्बो इन्जिनसँग हाइब्रिड सिस्टम पाउन सकिन्छ । कम्पनीले यसलाई ‘म्याजिक कोर हाइब्रिड’ प्रविधिसहितको अफरोड एसयूभी भनेको छ । कम्पनीको दाबी अनुसार ५१ लिटर पेट्रोलले करिब १ हजार किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ ।
चिनियाँ सडकमा दाबी गरिएको माइलेज नेपाली सडक, ट्राफिक र ड्राइभिङ शैलीमा कस्तो हुन्छ, त्यो पनि हेर्न निकै रोचक हुनेछ ।
नेपालका सडकमा बीजे-३० ईको अर्को बलियो पक्ष २१५ एमएमको ग्राउण्ड क्लियरेन्स हो । यसमा रहेको २५ डिग्री अप्रोच एङ्गल र ३० डिग्री डिपार्चर एङ्गलले ग्रामीण र अफरोड बाटोमा राम्रो प्रदर्शन गर्न सक्छ । हिमाली र दुर्गम क्षेत्रमा यात्रा गर्नेका लागि फोर ह्वील ड्राइभ सिस्टम मुख्य आकर्षण हुन्छ ।

अफरोड यात्राको लागि सहयोगी फिचर
बीएआइसीले यसमा अफरोड ड्राइभिङसँग सम्बन्धित उपयोगी जानकारी उपलब्ध गराएको छ । इन्स्ट्रुमेन्ट क्लस्टरमा स्लोप एङ्गल, पिच, अल्टिच्युड, एयर प्रेसर र कम्पासजस्ता कुरा हेर्न सकिन्छ । पानी जमेको स्थानमा गाडी चलाउँदा वेडिङ मोड प्रयोग गरेर पानीको स्तरसमेत रियल टाइममा हेर्न सकिन्छ ।
क्याबिन पनि बीजे-३० ईको अर्को आकर्षक पक्ष हो । १४.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रीन, ८ स्पीकर, वायरलेस चार्जर र प्रिमियम लेदर सिटले लाइफस्टाइल एसयूभी अनुभूत गराउँछ । सुरक्षाका लागि ८ एयरब्याग, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर र एडासजस्ता आधुनिक फिचर छन् ।


