२० प्रोटोटाइप र चार चरण पार गर्दै तयार भएको यात्री पी-२

काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्री स्कुटर यात्री पी २ भोलि (मंगलबार) नाडा अटो शो २०२६ मा सार्वजनिक हुँदै छ ।
सिप्रदी र यात्रीको सहकार्यमा निर्माण भएको यात्री पी २ लामो परीक्षण र निरन्तरको सुधारपछि नेपाली बजारमा आउन लागेको हो ।

यात्री पी २ को अनुसन्धान, डिजाइन, डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएको हो । त्यसैले यो स्कुटर लन्च अगावै नेपालमा चर्चामा छ ।

कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर पी-२ को च्यासिस विकास गर्दा डिजाइनदेखि उत्पादन प्रक्रियासम्म निरन्तर परीक्षण र सुधारको प्रक्रियालाई अपनाएको जनाएको छ।

यात्रीका अनुसार डिजाइनरले तयार गरेको डिजाइनलाई तत्काल प्रोटोटाइपमा रूपान्तरण गरी परीक्षण गर्ने र त्यसबाट प्राप्त नतिजाका आधारमा पुनः डिजाइन सुधार गर्ने प्रक्रियाबाट पी-२ को च्यासिस विकास गरिएको हो।

कम्पनीले प्रारम्भिक चरणमा अल्मुनियम र थ्रीडी प्रिन्टिङ प्रविधिबाट अस्थायी जिग तथा फिक्स्चर तयार गरेको थियो। यस्ता फिक्स्चरको प्रयोग गरेर एउटै डिजाइनका करिब १५ देखि २० वटा प्रोटोटाइप निर्माण गरी रोड टेस्ट, प्रयोगशाला परीक्षण तथा अन्य अनुसन्धानमा प्रयोग गरिएको थियो।
यस प्रक्रियाबाट प्राप्त तथ्यांकले उत्पादनको डिजाइन मात्र नभई म्यानुफ्याक्चरिङ प्रक्रिया पनि सुधार गर्न सहयोग गरेको कम्पनीको भनाइ छ। प्राविधिक रूपमा सहज, उत्पादन गर्न सजिलो र आर्थिक रूपमा व्यवहारिक हुने गरी डिजाइनलाई पटक-पटक परिमार्जन गरिएको हो।

यात्रीले पी-२ को च्यासिस विकासका क्रममा करिब चार चरणका प्रमुख इटरेसन पार गरेको जनाएको छ। प्रत्येक चरणमा प्रोटोटाइप निर्माण, परीक्षण र प्राप्त नतिजाका आधारमा सुधार गर्दै अन्तिम डिजाइनतर्फ अघि बढाइएको हो।

कम्पनीका अनुसार प्रोटोटाइप निर्माणमा प्रयोग भएका जिग तथा फिक्स्चरलाई ठूलो परिमाणमा उत्पादन गर्न भने कठिन हुन्छ। त्यसैले व्यावसायिक उत्पादनका लागि छुट्टै बहु-चरणीय जिग तथा फिक्स्चर विकास गरिएको छ ।

उत्पादन प्रक्रियामा विभिन्न प्रकारका कच्चा पदार्थ, जस्तै शीट मेटल, सोलिड स्टक र ट्युबुलर मेम्बरलाई विभिन्न प्रक्रियाबाट आवश्यक आकारमा रूपान्तरण गरिन्छ । त्यसपछि विभिन्न चरणका फिक्स्चरमा च्यासिसका पार्टहरू जोड्दै वेल्डिङ गरिन्छ। प्रत्येक चरणमा गुणस्तर परीक्षणपछि मात्र अर्को चरणमा पठाइन्छ।

यात्रीका अनुसार पी-२ को विकासमा करिब दुई वर्षदेखि काम भइरहेको छ। कम्पनीले हरेक चरणमा गुणस्तरमा सम्झौता नगरी डिजाइन र उत्पादनलाई फाइन-ट्युन गर्दै आएको जनाएको छ।

हाल सार्वजनिक गरिएको चारमध्ये अन्तिम चरणको च्यासिस नै पी-२ मा प्रयोग हुने लगभग अन्तिम डिजाइन रहेको कम्पनीले जनाएको छ। यद्यपि, व्यावसायिक उत्पादनअघि केही साना परिवर्तन भने हुन सक्ने बताइएको छ।


Back_to_top