लकडाउनले स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, अझै ४ लाख प्रिन्ट हुन बाँकी

काठमाडौं ।कोरोन भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनसँगै स्मार्ट लाइसेन्स छपाई पनि ठप्प भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले ४ देखि मास प्रिन्टरमार्फत दैनिक ३ देखि ४ हजारसम्म लाइसेन्ट प्रिन्ट गर्दै आएको भए पनि लकडाउनका कारण हाल ठप्प भएको हो । मास प्रिन्टर सञ्चालनमा आएपछि मात्रै ३ लाख ४० हजार लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।

विभागका अनुसार अझै ४ लाख भन्दा बढी लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ ।यातायात व्यवस्थापन विभागका महानिर्देशक गोगन बहादुर हमालले अझै ४ लाख लाइसेनस प्रिन्ट हुन बाँकी रहेको बताए । उनले हालसम्म मास प्रिन्टरमार्फत ३ लाख ४० हजार स्मार्ट लाइसेन्स प्रिन्ट भएको बताए । हाल लाइसेन्स प्रिन्ट पनि ठप्प भएको छ ।

उनका अनुसार लक डाउन खुल्लाहुना साथ लाइसेन्स प्रिन्टलाई तीव्रता दिइने छ । ‘हामी लक डाउन खुल्ला हुनासाथ २५ गतेबाट लाइसेन्स प्रिन्ट सुरु गर्ने छौं,’ हमालले मेरो अटोसँग भने ।

अहिले देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । लाइसेन्स प्रिन्टको काम विभागले गर्दै आए पनि सातै प्रदेशबाट वितरणको काम हुँदै आएको छ ।

विभागले चालू आवभित्रै सबै पुराना बाँकी रहेका लाइसेन्स प्रिन्ट गरी सक्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य अझ १ महिना लम्बिने उनले बताए । सरकारले सबै पुराना लाइसेनस प्रिन्ट भएपछि ट्रायल पास गरेको १ सातामा लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।

सरकारले कागजी लाइसेन्स हटाएर देशव्यापी रुपमा स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछि लाइसेन्सको माग अनुसार छपाइको सन्तुलन बिग्रेको हो । जसका कारण अझै सम्म पनि सेवाग्राहीले समयमै लाइसेन्स प्राप्त गर्न सकेका छैनन् ।  लाइसेन्स प्राप्त गर्न ढिलो भएको कारणले धेरैले सेवाग्राहीहरुले समस्या झेलिरहेका छन् ।


Back_to_top