राइड सेयरिङ गर्न चाहनेलाई १ हजार इलेक्ट्रीक स्कुटर बाँडिँदै

काठमाडौं । तीन संस्था मिलेर स्वरोजगार बनाउन १ हजार युनिट इलेक्ट्रीक स्कुटर भाडामा दिने भएका छन् ।

तपाईंको बजार, ई-ड्राइभ नेपाल र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १ हजार जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक गर्न लागेका हुन् ।

यस योजना अन्तर्गत १ हजार वटा इलेक्ट्रीक स्कुटर न्यूनतम भाडामा दैनिक तेल खर्चसरहको दरमा प्रदान गरिनेछ। आफ्नै गाडी नभएका वा कमसल सेकेन्डहेन्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै मासिक न्यूनतम ७२ हजार रुपैयाँसम्म आम्दानी हुने गरि राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गरिनेछ ।

यसरी उपलब्ध स्कुटरले नेपालमै उत्पादित विद्युतको प्रयोग गर्दै विदेशी इन्धनमा हुने खर्च कटौती गर्ने र स्वदेशी स्रोतको उपयोग बढाउने लक्ष्य लिएको छ।

‘तपाईंको बजार’का संचालक सुशील संग्रौलाका अनुसार योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसरहरू खुला गरिएको छ ।

पहिलो, कर्मचारीको रूपमा नियुक्त भएर काम गर्ने । दोस्रो राइडरको रूपमा दैनिक भाडामा स्कुटर लिएर काम गर्ने सक्ने । तेस्रो लगानीकर्ताका रूपमा आफ्नै इलेक्ट्रीक स्कुटर परियोजनामा राखी नियमित भाडा आम्दानी लिन सकिने उनले बताए ।

कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तर्राष्ट्रिय स्तरको राइड सेयरिङ कम्पनी याङ्गोसँग गरिएको छ । ‘ई ड्राइभ नेपाल’का प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ । यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिरहेका तीन संस्थामध्ये ‘तपाईंको बजार’ नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बाइक, स्कुटर, गाडी, घरजग्गा लगायतका सम्पत्तिहरूमा कारोबार गर्दै आएको मल्टिब्राण्ड शोरुम हो।

‘ई-ड्राइभ नेपाल’ पूर्णरूपमा नेपाली लगानीमै स्थापना भएको राइड सेयरिङ कम्पनी हो । ‘परिमिता ग्रुप’ विदेशबाट आधुनिक दुईपाँग्रे सवारी साधन आयात गर्दै आएको अनुभवी संस्था हो।

ऐतिहासिक स्वरोजगार योजना यही असार २१ गते परिमिता ग्रुपका डाइरेक्टर मनन तुलाधारले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।


Back_to_top