पहिलोपटक तातोपानी नाका हुँदै हेलिकोप्टर आयात, ४ करोड बढी राजस्व उठ्ने

काठमाडौं । पहिलोपटक चिनियाँ नाका तातोपानी हुँदै हेलिकोप्टर आयात भएको छ । माउन्टेन हेलिकोप्टर प्रालिले चीनसँग खरिद गरेको हेलिकोप्टर सडकमार्ग हुँदै आयात गरिएको हो ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले चीनबाट ल्याइएको हेलकोप्टर बुधबार भन्सार यार्डमा आइपुगेको जानकारी दिए ।

उनका अनुसार उक्त हेलिकोप्टर आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर ल्याएको हो । उनले चीनबाट आइपुगेको हेलिकोप्टर अब भन्सार जाँचपास प्रक्रिया पूरा गरेर काठमाडौं पठाइने बताए ।

‘बुधबार चीनबाट टेलरले एउटा हेलिकोप्टर ल्याएको छ । त्यो अहिले पुरानो भन्सार यार्डमा राखिएको छ,’ उनले मेरोअटोसँग भने, ‘अब आयातकर्ताले निवेदन दिएपछि जाँचपास प्रक्रिया सुरु हुनेछ ।’

उक्त हेलिकोप्टरको मूल्य २९ करोड रुपैयाँ हाराहारी रहेको उनले बताए । अब त्यसमा १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने उनले बताए । ‘हेलिकोप्टरको मूल्य २९ करोड हाराहारी रहेको छ । त्यसमा ढुवानी खर्च र बीमा शुल्क जोडेर कर लगाइन्छ,’ उनले भने, ‘सबै गर्दा ४ करोड बढी राजस्व असुल हुने देखिन्छ ।’

फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बीथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो । चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ ।

उक्त हेलिकोप्टर तातोपानीबाट भने उडाएर काठमाडौं ल्याइने बताइएको छ । माउन्टेनले चिनियाँ कम्पनीसँग ५ वटा हेलिकोप्टर खरिद गरेको छ ।


Back_to_top